राजस्व बृद्धि गर्न टोखामा असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाइँदै

Advertisement

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउनका लागि कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गर्न लागेको जानकारी दिए । गत आवमा जम्मा रु २४ करोड ५२ लाख राजस्व सङ्कलन भएको उनको भनाइ थियो ।

Advertisement

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घरबहाल करमा १६ प्रतिशत र अन्य शीर्षकमा १० प्रतिशत रहेको छ । उनले आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिने र उक्त हप्ताभर करका बारेमा प्रचार–प्रसार तथा शिक्षा प्रदान गरिने बताए । 

प्रमुख प्रशासकीय अधिकृत बिसीले टोखाको कुल बजेटमध्ये ७७ प्रतिशत बजेट संघीय सरकारसँग भर पनुपर्ने अवस्था आएको उल्लेख गरे । राजस्व सप्ताहसम्बन्धी मङ्गलबार बसेको तयारी बैठकमा बोल्दै राष्ट्रिय  योजना आयोगका पूर्वसदस्य प्रा डा डिल्लीराज खनालले आम नगरवासीलाई राजस्वका बारेमा जनचेतना प्रदान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । राजस्वले नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने उनको भनाइ थियो ।

करदाता सेवा कार्यालय बालाजुका कर अधिकृत लालप्रसाद पङ्गेनीले घर–घरमा पुगेर कर शिक्षा प्रदान गर्न सकेमात्र नगरपालिकाले राखेको लक्ष्य हासिल हुने बताए । करदाता सेवा कार्यालय लाजिम्पाटका कर अधिकृत तिलक खड्काले नगरवासीले कर नतिरे नगरपालिकाबाट पाउने सेवा, सुविधा कटौती हुन्छ भन्ने सन्देश दिन जरुरी रहेको बताए । नगरपालिकाले राजस्वलाई फराकिलो बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । रासस

Advertisement