‘रेड लाइट’ बल्योः दुई दिनमा साढे २२ अर्ब भुक्तानी दिँदा सरकारी खाता ७७४ करोड ऋणात्मक

Advertisement

काठमाडौं । सरकारले दुई दिनमा २२ अर्ब ७२ करोड भुक्तानी दिँदा सरकारको आम्दानीभन्दा खर्च सात अर्ब ७४ करोड रुपियाँ बढी हुन गएको छ । सरकारी कर्मचारी, पेन्सन पकाएर बसेका कर्मचारीलगायतको अनिवार्य दायित्व भुक्तानी दिँदा सरकारको आम्दानीभन्दा खर्च धेरै हुन गएको हो ।

सरकारले आइतबार र सोमबार दुई दिनमा मात्रै २२ अर्ब ७२ करोड भुक्तानी दिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सेवानिवृत्त कर्मचारीलाई पेन्सनसहित दशैं पेस्की दिँदा मात्रै ११ अर्ब रुपियाँ खर्चिनुपरेको छ ।
यस्तै, सरकारी कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी शिक्षक, नेपाल प्रहरीलाई दशैं पेस्कीसहितको तलब भुक्तानी दिँदा सरकारी खाता थप दबाबमा आएको हो । 

Advertisement

अर्थ मन्त्रालयले घटस्थापनाको १५ दिन अघिबाट दशैंको पेस्की र तलब भुक्तानी दिन पाउने व्यवस्था छ । जसअनुसार मन्त्रालयले भुक्तानी दिन सुरु गरेको हो । तर राजश्व अशुलीमा लक्ष्यअनुसार प्रगति हुन नसक्दा सरकारी खातामा ‘रेड लाइट’ बलेका छ । समस्या टार्न सरकारले महँगो ब्याजदरमा आन्तरिक ऋण उठाइरहेको छ । यस्तो सरकारले चालु वर्षको पहिलो ६ महिनामै ९० अर्बभन्दा बढी ऋण उठाउने तयारी गरिसकेको छ । 

सरकारले यसै गतिमा राजश्व संकलन गर्न नसके आन्तरिक ऋणले पनि धान्न नसक्ने अवस्था आउने देखिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले खर्च कटौतिको प्रस्तावलाई अस्वीकार गरी खर्च बढाउने प्रस्ताव स्वीकार गरेका थिए । संसदमा नेपाली काँग्रेस ठूलो पार्टी रहेको भन्दै उनले बजेटमा चलाखी गरेर साँसद विकास कोषलाई ब्युँताएर आठ अर्ब थप दायित्व सिर्जना गरेका थिए । 

यस्तै जनार्दन शर्माले वृद्ध भत्ता वितरण गर्ने उमेर घटाउने निर्णयलाई समेत निरन्तरता दिएका थिए । चालु वर्ष सरकारलाई सामाजिक सूरक्षा शीर्षकमा विनियोजन गरेको बजेटले पनि नपुग्ने देखिएको छ । यो वर्ष सरकारले एक खर्ब ५४ अर्ब सामाजिक सूरक्षमा रकम विनियोजन गरेको छ । विनियोजित रकमभन्दा बढी यो शीर्षकमा खर्च हुने अनुमान गरिएको छ । अहिले आर्थिक मन्दीका कारण उद्योग व्यवसाय र आर्थिक गतिविधि फस्टाउन नसक्दा करदाताले पहिला जसरी कर तिर्ननसक्ने अवस्था सिर्जना भएको छ । 

Advertisement