चार कम्पनीले तातोपानीमा ल्याएको ७१ हजार बोरा रासायनिक मल जफत गर्दै भन्सार विभाग

Advertisement

काठमाडौं । तातोपानी भन्सार कार्यालय गोदाममा रहेको ७१ हजार बोरा मल जफत गर्ने भएको छ । लामो समयदेखि व्यवसायीले मल जाँचपास गर्न नसकेपछि जफत प्रक्रिया सुरु भएको हो। 

कार्यालयको गोदाममा रहेको मल जफत गर्न लागेको भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए। उनले कर्पोरेट नेपालसँग भने, ‘भन्सार गोदाममा आइपुगेको सामान ६० दिनभित्र जाँचपास गराइसक्नु पर्नेछ । यदी तोकिएको समयमा जाँचपास भएन भनि जफत गर्ने कानुनी व्यवस्था छ । यसैअनुसार जफत गर्ने प्रक्रिया अघि बढाएका हौं ।’

Advertisement

प्रमुख केसीका अनुसार कार्यालय गोदाममा तीन हजार ५९२ टन अर्थात ७१ हजार बोरा मल रहेको छ । मल जफत गर्ने प्रक्रिया अघि बढिसकेको छ । जफतको काम सक्किएपछि मलको परीक्षण गरिनेछ । मल काम लाग्ने भएमा मात्रै लिलामी निकाल्ने कार्यालयको तयारी छ । 

मल आयातकर्ता र कृषि मन्त्रालयबीच लामो समयदेखि विवाद रही आएको थियो । कृषि सामग्री केन्द्रले मल आयात गर्न सम्झौता गरेर मल नलिएपछि आयातकर्ता समस्यामा परेका थिए । केन्द्रले भने ठेक्का तोडिसकेपछि मल ल्याएकोले मल नलिएको जनाएको छ । 
 
मल जफत हुने भएपछि भने आयातकर्ता व्यवसायीले ठूलो घाटा व्यहोरेका छन् । मल आयात गर्नका लागि कृषि सामग्री केन्द्रले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । सो ठेक्कामा सिल्क÷सिनोम्याक÷ग्लोबल म्याटिक्स÷विध जेभीले केन्द्रसँग ठेक्का सम्झौता गरेको थियो ।

विध जेभीले केन्द्रसँग २४ नोभेम्बर २०२१ मा सम्झौता गरेको थियो । विध जेभी र केन्द्रबीच २९ मार्च २०२२ सम्ममा मल आपूर्ति गरिसक्नुपर्ने र सम्झौता भएको थियो । तर समयमै मल ल्याउन नसकेपछि केन्द्रले मल लिएन र मल गोदाममै थन्किएर बस्यो। 

आयातकर्ता व्यवसायीले ठेक्का सम्झौताअनुसार ल्याएको मल व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न नसकेपछि समस्यामा परेका हुन् ।  

Advertisement

Advertisement