सुन तस्करी प्रकरणः माओवादी नेता महराका छोराविरुद्ध मुद्दा दर्ता, बाबु सुरक्षित

Advertisement

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहितका व्यक्तिविरुद्ध जिल्ला अदालत, काठमाडौंमा बुधबार मुद्दा दर्ता भएको छ । 

उनीहरुविरुद्ध अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गरेको हो । 

Advertisement

सरकारी वकिलको कार्यालयले राहुल महरा, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाइएको छ । तर, उक्त सुन छुटाउन पटक पटक टेलिफोन गरेको प्रमाण भेटिँदा पनि कृष्णबहादुर महरालाई भने प्रतिवादी बनाइएको छैन् । 

टेलिफोन सम्पर्कका आधारमा मात्र महरालाई मुद्दा चलाउने स्थिति नदेखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नै सुझाव दिएअनुसार सरकारी वकिलको कार्यालयले पनि मुद्दा दर्ता गरेको छ । कृष्णबहादुर महराले त्रिभुवन विमानस्थल भन्सारका तत्कालिन प्रमुख अरुण पोखरेललाई पहिल्यैदेखि चिनेकाले ‘के भएको हो ? कानूनबमोजिम के गर्न मिल्छ हेरिदिनु होला’ भनेर फोन गरेको जिकिर गरेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो । भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिब ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको खुलेको हो ।

सुन ल्याउने चिनियाँ नागरिक लुई र कृष्णबहादुर महरा (९८५१––––८८) बीच ११ पटक सम्पर्क भएको देखाइएको छ । तर मुद्दा चलाउन ठोस आधार नदेखिएको भन्दै प्रहरीले उनीहरुलाई प्रतिवादी नबनाइनुले सरकार कृष्णबहादुर महरालाई चोख्याउने योजनामा रहेको प्रष्ट देखिन्छ । जनदबाबपछि उनका छोराविरुद्ध भने मुद्दा दर्ता गरिएको छ । नेता कृष्णबहादुर महरा यसअघि पनि चिनियाँ नागरिकसँग ५० करोड रुपियाँ माग गरेकोदेखि सभामुख हुँदा आफ्नै कार्यालयमा कार्यरत कर्मचारीलाई बलात्कारको प्रयास गरेकोसम्म आरोप लागेको छ । 

Advertisement

Advertisement