नेपाली सेनाका गजेन्द्र राई लिगलिगे राजा घोषित !

Advertisement

गोरखा । एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन् । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो । उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन् । 

प्रतियोगितामा निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो भए । भारतीय सेनामा कार्यरत अनिष थापामगर प्रतियोगितामा यसपटक तेस्रो भए । उनले निर्धारित दुरी ५८ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रो हुन सफल भएका हुन् । 

Advertisement

गोरखा र लमजुङको सिमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु भएको दौड प्रतियोगिता ढिँकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ,सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो ।

प्रतियोगितामा उपाधि विजेता राईले रु एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।  त्यस्तै दोस्रो भएका रावतले ५० हजारसहित मेडल र प्रमाणपत्र, तेस्रो हुने सफल थापामगरले २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको  आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले जानकारी दिए । नेपाल एकीकरणअघिका बाइसे चौबिसे राज्यमध्ये एक लिगलिग कोटमा दौडेर पहिलो हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । तत्कालीन समयमा दौडर राजा हुने परम्परालाई जोगाइ राख्न पछिल्लो समय दौड प्रतियोगिता गर्ने गरिएको छ । लिगलिगमा आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताले टेवा पुगेको आयोजकले जनाएको छ ।

विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः विसं २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिनुभयो । द्रव्य शाहले दौडमा विजय हासिलगरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

Advertisement