काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही गरेको छ ।
राष्ट्र बैंकको बैंक सपरीवेक्षण विभागले आव २०८०/८१ को तेस्रो त्रैमासमा ती बैंकका अध्यक्ष, सञ्चालक र सीईओहरुलाई कारवाही गरिएको रिपोर्ट आज सार्वजनिक गरेको हो ।
उक्त रिपोर्टका अनुसार प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सल डेभलमेन्ट बैंक राष्ट्र बैंकको कारवाहीमा परेका छन् ।
प्राइम बैंकका सीईओ र सञ्चालक समितिलाई कर्जा सापटको वर्गीकररण नगरेको र कर्जा नोक्सानी बापतको कायम गर्नु पर्ने व्यवस्था कायम नगरेको भन्दै सचेत गराइएको हो ।
त्यस्तै कुमारी बैंकका सीईओ र सञ्चालक समितिलाई पर्नि कर्जा सापटको वर्गीकररण नगरेको र कर्जा नोक्सानी बापतको कायम गर्नु पर्ने व्यवस्था कायम नगरेकोमा राष्ट्र बैंकले एक्सन लिएको छ ।
यता नेपाल इन्भेष्टमेन्टका सीईओलाई कमलादी शाखाबाट खोलिएको प्रतितपत्रमा ४१.३६ करोड कर्जा सापट देखाई राष्ट्र बैंकको निर्देशन विपरित असल कर्जा देखाइएको, सीआरएस बापतको खर्चलाई समेत समावेश गरी आधार दर गणना गरेको भन्दै सचेत गराइएको छ ।
त्यस्तै लक्ष्मी सनराइज बैंकका संस्थापक शेयरधनी राजेन्द्रकुमार खेतानलाई राष्ट्र बैंकको निर्देशन विपरित कार्य गरेको भन्दै १० लाख जरिवाना गरिएको छ । साथै सीईओलाई सचेत गराइएको छ ।
राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकलाई सचेत गराइएको बैंक सुपरीवेक्षण विभागले जनाएको छ ।