टी–ट्वान्टी विश्वकप खेल्न पाउने भएकोमा भाग्यमानी ठान्छु– रोहित

Advertisement

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन् । 

शुक्रवार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै जारी आईसीसी विश्वकप छनोट (एसिया क्वालिफायर)को फाइलनमा यात्रा तय गरेसँगै नेपाल सन् २०१४ पछि पहिलो पटक ट्वान्टी– ट्वान्टी विश्वकपमा स्थान बनाए । 

Advertisement

यो सफलतापछि कप्तान रोहितले सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै सन् २०१४ कै विश्वकप हेरेर नै हुर्किएको उल्लेख गर्दै यस पटक आफै विश्वकप खेल्न पाउनु भाग्यमानी महशुस भएको बताए । 

टस हारेपछि डर लागे पनि बलिङमा सबैले राम्रो योगदान दिएको उल्लेख गर्दै उनले युएईको महत्वपूर्ण ब्याटर मोहम्मद वासिमलाई छिटै आउट गर्ने योजना रहेको र सोहीअनुरूप सोमपालले उनलाई प्यावेलियन फर्काउन सक्नु ठूलो सफलता रहेको बताए । त्यसपछि सन्दीप लामिछाने, कुशल मल्ल र गुल्सन झाले बलिङमा राम्रो योगदान दिएपछि युएईलाई कम योगफलमा रोक्नु पनि अर्को महत्वपूर्ण पक्ष रहेको उनले बताए । 

ब्याटिङमा पनि कुशल भुर्तेलले राम्रो शुरुवात दिलाउनु र आसिफ शेखले लामो इनिङसम्म उत्कृष्ट रहेको कप्तान रोहित पौडेलले बताए । दोस्रो पटक ट्वान्टी–ट्वान्टी विश्वकप खेल्न लागेका नेपालका एक मात्र खेलाडी सोमपालले पछिल्लो संस्करणभन्दा यस पटक धेरै उत्साहित रहेको बताए । जसरी पनि ट्वान्टी–ट्वान्टी विश्वकप खेल्नुपर्छ भन्ने आफूहरूको लक्ष्य पूरा भएको पनि उनले बताए । 

ओपनर आसिफ शेखले विश्वकप खेल्न लक्ष्य पूरा भएको बताए । उनले ठूलो खेलमा केही गर्छु भन्ने रहेको र त्यसैले अन्तिमसम्म इनिङ खेल्छु भन्ने योजना अनुरूप सफल भएको बताए । साथै नेपालका बलरले युएईलाई थोरै योगफलमा रोक्नु पनि जितको महत्वपूर्ण पक्ष रहेको शेखले उल्लेख गरे । 

प्रशिक्षक मोन्टी देसाईले टिमलाई एक बनाएर अगाडि बढाएको उल्लेख गर्दै उनले यो सफलताको श्रेय प्रशिक्षकलाई दिए । 

Advertisement

Advertisement