माथिल्लो अरुणका लागि स्रोत जुटाउन मैले विश्व बैंकसँग कुरा गरेको छुः अर्थमन्त्री महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । 

संखुवासभास्थित माथिल्लो अरुण (अपर अरुण) अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा शुक्रबार उनले भने, ‘यसको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छ । त्यसपछि जिल्लावासी र त्यसपछि मात्र देशले पाउँछ भन्ने मान्यताका आधारमा यो आयोजना अगाडि बढ्छ ।’

Advertisement

एक हजार ६१ मेगावाटको यो आयोजना कार्यान्वयनको चरणमा पुगेको बताउँदै महतले अब यो आयोजना अगाडि बढ्ने बताए । हरेक ठूला आयोजना कार्यान्वयनका लागि पूर्वतयारी महत्वपूर्ण हुने भए पनि त्यस्तो हुन नसकेको उनले बताए । 

मन्त्री महतले भने, ‘बाटोको अभावमा आयोजना प्रभावित हुँदैन् । जहाँबाट र जसरी पनि श्रोत जुटाएर हामी यो बाटो पनि निर्माण गर्छौ । यहाँका समस्यालाई चाँडै टुंगो लगाउँछौं । यहाँका स्थानीयले चाहे जति शेयर पाउने छन् ।’

अपर अरुण आयोजनाभन्दा तल अन्य दुई वटा आयोजना अगाडि बढिरहेको औंल्याउँदै उनले हरेकको समय आउँछ, भोटेखोला र संखुवासभाको समय आएको छ भने । विश्व बैंकका प्रतिनिधि आहानालगायतको टिम पनि निरीक्षणमा आएको बताउँदै महतले यस आयोजनामा लगानी गर्ने विश्व बैंकको चाहनालाई प्रतिविम्बित गर्छ भने । 

मन्त्री महतले भने, ‘यो आयोजना कार्यान्वयन गर्दा स्थानीयले रोजगारी पाउने मात्र होइन, यहाँको जीवनस्तर माथि उकास्न सहयोग पुग्नेछ । स्थानीयको आर्थिक र सामाजिक सहभागिताका लागि सम्पूर्ण जिम्मा सरकारले लिन्छ ।’

महतसँग ऊर्जामन्त्री शक्ति बस्नेत पनि संखुवासभा पुगेको महतको सचिवालयले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको गौरवको आयोजनाका रूपमा माथिल्लो अरुणलाई निर्माण थालिएको बताउँदै महतले ‘ऊर्जा मन्त्रालयले यो आयोजना अगाडि बढाउन धेरै अगाडिदेखि गृहकार्य गरिरहेको, अब यो आयोजना कार्यान्वयन तहमा पुग्दैछ । यो आयोजनामा लगानी गर्न विश्व बैंकले चासो देखाएको छ । विश्व बैंकले अन्य दाताहरु पनि जुटाउँदैछ, त्यसमा एसियाली विकास बैंक पनि पर्छ ।’

आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको दावी गरेको छ । आयोजना प्रभावित क्षेत्रका ७८८ कित्तामध्ये ६९९ कित्ता काट गरिसकेको र आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको जनाइएको छ ।

जलविद्युत् आयोजनाको अनुमानित लागत दुई अर्ब २६ करोड रुपियाँ बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । जलविद्युत आयोजना निर्माण सुरु भएको छ वर्षभित्र सम्पन्न गर्ने योजना रहेको माथिल्लो अरुणको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाउने योजना बनाइएको छ ।

मन्त्री महतले माथिल्लो अरुण कार्यान्वयनमा लैजान आफूले विश्व बैंकको बैठकमा सस्तो ब्याजदर र अनुदानका लागि कुरा गरेको बताए । जलवायु परिवर्तनको परिपेक्ष्यलाई आफूले जोड दिएको बताउँदै उनले विश्व बैंक सकारात्मक देखिएको बताए । महतले भने, ‘अब यो आयोजना कुन शर्तमा कसरी श्रोत जुट्छ ? भन्ने तहमा पुगेको छ । भोटखोला मात्र होइन, सम्पूर्ण संखुवासभावासीले यो आयोजना कार्यान्वयनमा उत्सुकता देखाउनु भएको छ ।’

Advertisement

Advertisement