भूकम्पमा ज्यान गुमाउनेको परिवारलाई रु. दुई लाखका दरले राहत उपलब्ध गराउने निर्णय

Advertisement

काठमाडौं । मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाउनेको परिवारलाई प्रतिमृतक परिवार रु. दुई लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आज आइतबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर भूकम्प 
 प्रभावितको खोज, उद्धार र राहतसम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको जानकारी दिइन् । 

Advertisement

बैठकले भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास, खाने कुरा र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ । छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिक रुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने निर्णय गर्दै बैठकले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा अपिल गर्ने निर्णयसमेत गरेको छ । 

मन्त्री शर्माका अनुसार भूकम्पबाट क्षति भएका सडक, सञ्चार लगायतका संरचना तत्काल मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने, पुनर्निर्माणमा एकीकृत कार्ययोजना बनाई व्यवस्थित गर्ने निर्णय भएको छ । भूकम्प पश्चात खोज, उद्धार र राहतमा खटिएका सरकारी निकाय, स्थानीय तह, व्यक्ति एवम् संघसंस्थाले जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी त्यसलाई निरन्तरता दिन बैठकले आग्रह गरेको छ । 

Advertisement