सूर्य नेपालले लिन चाहेको जचुकालीका चुरोटहरुको ट्रेडमार्क सरकारले दिएन्

Advertisement

काठमाडौं । जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को ट्रेडमार्कहरु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संरक्षण गरेको छ । मन्त्रालयले जचुकालीका ४७ वटा ट्रेडमार्क आफै दर्ता गरी संरक्षण गरेको हो । 

उद्योग विभागले जचुकालीका ४७ वटा ट्रेडमार्क बुलेटिनमा प्रकाशित गरेको छ । ट्रेडमार्क सुरक्षित गर्न भने विभागले ठूलै मिहेनेत गर्नुपरेको हो । कानुनअनुसार एक पटक लिइसकेपछि सात वर्ष सो ट्रेडमार्कको म्याद रहन्छ । यसपछि म्याद सकिनु अगावै नवीकरण गर्नुपर्ने हुन्छ । 

Advertisement

तर जचुकालीका चुरोटका ब्राण्डहरुको ट्रेडमार्क पहिले नै सक्किएकाले यसको सुरक्षा चुनौती बनेको थियो । यी चुरोटहरुको ट्रेडमार्क हात पार्न तथा अर्कोलाई हात पार्न नदिन ठूला कम्पनी तथा व्यवसायिक घरानाबीच निकै ठूलो कसरत चलेको थियो । 

जचुकालीका चुरोटहरुको ट्रेडमार्क सुरक्षाको लागि भन्दै उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पनि चासो देखाएका थिए । उनले यससम्वन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएका थिए । तर स्पष्ट कानुनी आधार नभएपछि मन्त्रिपरिषदले पनि ट्रेडमार्क सुरक्षित गर्न सकेको थिएन् । यस पटक पनि पुनः नयाँ प्रक्रियाबाट जचुकालीका चुरोटहरुको ट्रेडमार्क दर्ता गरिएको हो । 

मन्त्रालय स्रोतको भनाई छ, ‘जनकपुर चुरोटका ट्रेडमार्क लगभग गुम्ने अवस्थामा पुगिसकेको थियो । नयाँ दर्ता प्रक्रियाबाट सुरक्षित गरिएको हो । यो ट्रेडमार्कमा धेरैले आँखा लगाएका थिए । पूरै नयाँ प्रक्रियाबाट ट्रेडमार्क सुरक्षित गरेका हौं । ट्रेडमार्कको म्याद सक्किएको अवस्थामा अरु कम्पनीले आवेदन हालेको भए संरक्षण गर्न कठिन पर्थ्यो । 

जचुकालीका चुरोटहरुको ट्रेडमार्क लिनका लागि चुरोट उत्पादक कम्पनी सूर्य नेपाल प्रा.लि. बढी इच्छुक देखिएको थियो । उक्त कम्पनीले पाएसम्म आफै लिएर सुरक्षित गर्ने तर अरु व्यापारिक घरानाको हातमा जचुकालीका चुरोटहरुको ब्राण्ड कुनै पनि हालतमा हात पर्न नदिने रणनीतिमा थियो । जचुकालीका ब्राण्डहरुको ट्रेडमार्कको लागि ठूलै आर्थिक प्रलोभनको अफर समेत आएको मन्त्रालयका कर्मचारीहरुको दावी छ । 

अहिले नेपालको चुरोटको व्यापारमा सूर्य नेपालको एकाधिकार छ । जचुकालीका चुरोटहरुको लोकप्रिय ब्राण्ड कतै अर्को व्यापारिक घरानाले हात पार्यो भने आफूलाई ठूलो चुनौति बन्ने देखेर सूर्य नेपाल सकेसम्म ती ब्राण्डको ट्रेडमार्क आफै किनेर राख्ने, नभएर अरुलाई किन्न नदिने रणनीतिमा लागेको थियो । सो रणनीतिमा सूर्य नेपाल सफल पनि भएको छ । 

यस्ता छन् जचुकालीका ४७ प्रकारका ट्रेडमार्क
जनकपुर चुरोट कारखाना लिमिटेड सतप्रतिशत सरकारी स्वामित्वको चुरोट कारखाना हो । राजा महेन्द्रले स्थापना गरेको यो उद्योग बहुदल आएसँगै राजनीतिक हस्तक्षेप बेथितिका कारण कमजोर बन्दै बन्द हुन पुगेको हो । 

यस उद्योगका उत्पादनहरुमध्ये याक, गैंडा निकै लोकप्रिय ब्राण्ड हुन् । कारखानाले चुचुरो, याक किङ्ग साइज, ज्वाला, रोदी, दोभान, जुनेली, लालीगुराँस सिल्भर, देउराली, याक, गैंडा, सिल्भर २५, गरिमा, हिमचुली, सत्कार, शोभा, ९९९, दियालो, बिसौनी, मुना, रिलक्स, याक्स मार्सल, याक प्रिमियम फिल्टर, च्वाइस, लाहुरे, बिहानी, सिरिस, आशा, मुनाल, देउराली, सयपत्री स्पेशल, उपहार, धनुष, गणतन्त्र र लोकतन्त्र नामका चुरोटहरु बजारमा ल्याएको थियो । 

जनकपुरधाममा कम्पनी ऐन, २०२१ अन्तर्गत २०२१ पुस २९ मा स्थापना भएको यो उद्योगको स्वामित्वमा जनकपुरको बीच शहरमा करिब ३४ विघा जग्गा, त्यसमा बनेको ठूलो कारखाना तथा अन्य कार्यालयसहितको संरचना छ । यो जग्गा अहिले प्रदेश सरकार बस्ने नाममा अतिक्रमण गरिएको छ जहाँ मन्त्रीका क्वार्टर समेत राखिएका छन् । कारखानाका भवनहरु जीर्ण र भत्कने अवस्थामा पुगेका छन् । 

जचुकालीमा सरकारको चार करोड आठ लाख प्रत्यक्ष शेयर लगानी भएको छ । यो उद्योगले आर्थिक वर्ष २०६५ –६६ मा सरकारलाई तिर्न बाँकी ऋण दुई अर्ब ९४ करोड ६३ लाख रहेको छ । उद्योगको खुद नोक्सान दुई अर्ब ९० करोड ६९ लाख रही खुद सम्पत्ति  दुई अर्ब ८१ करोड १६ लाख ऋणात्मक रहेको छ ।

null

Advertisement