आर्थिक रुपान्तरणका लागि २० खर्ब २५ अर्ब चाहिन्छ, आन्तरिक स्रोतले पुग्दैन्ः राजेश अग्रवाल

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मुलुकको आर्थिक रुपान्तरणका लागि स्वदेशी र विदेशी लगानीको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । 

शुक्रवार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा उनले आन्तरिक लगानीले मात्रै आर्थिक रुपान्तरण गर्न पर्याप्त नहुने बताए । अग्रवालले राष्ट्रिय योजना आयोगले नै दिगो विकासका लक्ष्य हासिल गर्न वार्षिक २० खर्ब २५ अर्ब रकम आवश्यक पर्ने अनुमान गरेको भन्दै नेपालको आन्तरिक क्षमताले नभ्याउने बताएको जानकारी दिए । 

Advertisement

उनले त्यसको लागि भए पनि विदेशी लगानी आवश्यक रहेको बताए । अध्यक्ष अग्रवालले नेपाल सन् २०२६ मा एलडीसीबाट ग्रयाजुएसन हुन लागेको भन्दै ग्रयाजुएसनपछि नेपालले पाउँदै आएको सुविधा हट्ने अवस्था रहेको बताए । 

उनले नेपालले पाउने सुविधा हटेपछि अन्य मुलुकसँग प्रतिष्पर्धी बन्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । अग्रवालले नेपालको उत्पादनलाई प्रतिष्पर्धी बनाउन उत्पादकत्व बढाउने र उत्पादन लागत घटाउनुपर्ने आवश्यकता रहेको बताए । उनले चालु आर्थिक वर्षको बजेटमा लगानी प्रवद्र्धनसँग सम्बन्धित आठ वटा बुँदाहरु रहेको भन्दै यसको कार्यान्वयनका लागि निजी क्षेत्रको जोड रहेको बताए । 

अग्रवालले निजी क्षेत्रको पहलमार्फत बजेटले निर्दिष्ट गरेका लक्ष्यहरू हासिल गर्न सघाउ पुग्ने विश्वास परिसंघको रहेको बताए । उनले बजेटमा घोषणा गरिएका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनबाट विद्यमान अर्थतन्त्रले भोगिरहेको मन्दीको असर, समग्र बजार मागमा आएको कमी, निजी क्षेत्रको घट्दो मनोबलमा सुधार ल्याउनुपर्ने अहिलको आवश्यकता रहेको बताए । 

अध्यक्ष अग्रवालले भने, ‘निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सरोकारका ७३ वटा बुँदालाई औद्योगिक विकास, लगानी प्रवद्र्धन, पूर्वाधार विकास, पर्यटन, कृषि, जडिबुटी तथा सुगन्धित वनस्पति, स्वदेशी उत्पादन तथा निर्यात प्रवद्र्धन, र कर व्यवस्थालाई सात क्षेत्रमा वर्गीकरण गरेका छौं । मुलुकको आर्थिक रुपान्तरणका लागि लगानी बढाउनुपर्ने हुन्छ । स्वदेशी र विदेशी लगानीको प्रवद्र्धन गर्न आवश्यक छ । आन्तरिक लगानीले मात्रै आर्थिक रुपान्तरण गर्न पर्याप्त हुँदैन । राष्ट्रिय योजना आयोगले नै दिगो विकासका लक्ष्य हासिल गर्न वार्षिक २० खर्ब २५ अर्ब रकम आवश्यक पर्ने अनुमान गरेको छ । यो हाम्रो आन्तरिक क्षमताले भ्याउँदैन । त्यसैले विदेशी लगानी पनि आवश्यक छ ।’ 

उनले समग्र आर्थिक विकास, बजेटले राखेको लक्ष्य हासिल गर्न एवं स्वदेशी एवं विदेशी लगानी प्रोत्साहन गर्न लगानी प्रवद्र्धन गर्न जोड दिए । अग्रवालले आन्तरिक लगानीसहित विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थायित्वसहित बजेटमा गर्ने भनेर उल्लेख गरिएका विषयको कार्यान्वयन अपरिहार्य रहेको जिकिर गरे । 

उनले सरकारको वित्त नीतिमा बोलिने तर कार्यान्वयन नहुने विगतका परम्परालाई तोड्दै मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा लैजान बजेटको सफल कार्यान्वयन गर्नुपर्ने बताए । 

Advertisement

Advertisement