टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न प्रतिस्पर्धा, सोमबार सुनुवाई हुने

Advertisement

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न कानुन व्यवसायीहरुबीच प्रतिस्पर्धा चलेको छ । दिउसोसम्मको विवरणअनुसार टिकटक बन्दविरुद्ध कम्तिमा ७ वटा रिट दर्ता भएको छ । यस्तो रिट अझै थपिनसक्ने संभावना छ । 

तिहार बिदापछि आज (शुक्रबार) अदालत खुलेकोले कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरु पेश गरेका हुन् ।

Advertisement

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाललगायतले रिट निवेदन दर्ता गराएका हुन् । उनीहरुको रिटमाथि सोमबार सुनुवाई हुने सर्वोच्च प्रशासनले जनाएको छ । 

टिकटक माथिको प्रतिबन्धले जनताको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, नियमन गर्ने निर्देशिका जारी गरेपछि सरकारले हठातरुपमा टिकटक बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको जस्ता कारण देखाउँदै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् । उनीहरुले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि माग गरेका छन् । 

टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने यस्तो सुनुवाई एक जना न्यायाधीशको इजलासमा हुने जनाइएको छ ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति अहिले मिश्रित प्रतिक्रिया आइरहेको छ । 

Advertisement

Advertisement