वालेट कम्पनी र यसका सञ्चालकहरुमाथि कडाई गर्दै भुक्तानी प्रणालीसम्बन्धी नयाँ निर्देशन जारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन – २०८० जारी गरेको छ । भुक्तानी सेवामा रहेका वालेट कम्पनीहरुलाई लक्षित गर्दै बैंकले यो निर्देशिका जारी गरेको हो । 

वालेट कम्पनीहरुका सञ्चालकको आर्थिक कारोबार र पारदर्शीता कायम गर्दै साइबर सुरक्षामा कडाई गर्नुपर्ने कुरा निर्देशिकामा रहेको छ । यसमा यसअघि जारी भएको साइबर रेजिलियन्स गाइडलाइन्सलाई मार्गदर्शनको रुपमा लागू गर्न भनिएको छ । वालेट कम्पनीहरूको प्राविधिक पक्षलाई थप सुरक्षिता बनाउन भन्दै विभिन्न व्यवस्था गरेको छ । 

Advertisement

भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरूले विद्युतीय भुक्तानी सेवा सञ्चालन र सुरक्षा तथा जोखिम व्यवस्थापन लगायतका मापदण्ड सम्बन्धमा यस बैंकबाट समय समयमा जारी गरिएका निर्देशनको पालना हुने गरी नीति तर्जुमा तथा अद्यावधिक गर्नुपर्नेछ । 

त्यस्तै, ग्राहक पहिचानसम्बन्धी व्यवस्थाबमोजिम पूर्ण रुपमा कागजात तथा विवरण पेश नगरी कारोबार गरिरहेका ग्राहकहरूको हकमा संस्थाले २०८१ असार मसान्तसम्ममा सम्पूर्ण कागजात तथा विवरण लिई ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने व्यवस्था गर्नुपर्ने कुरा पनि निर्देशिकामा रहेको छ । 

सम्पत्ति शुद्धीकरणको कुरालाई प्राथमिकता दिँदै राष्ट्र बैंकले वालेट कम्पनीहरूको संस्थापक शेयर खरिद बिक्रीमा प्रहरीले ‘क्लिन चिट’ दिनुपर्ने व्यवस्था गरेको छ । सञ्चालक र भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनीहरूको संस्थापक शेयर खरिद–बिक्री गर्दा प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभूमि भएमा शेयर नामसारी, खरिदबिक्री वा हक हस्तान्तरण गर्न पाइने छैन् ।

Advertisement

Advertisement