स्वास्थ्यमन्त्रीले दुर्गा प्रसाइँको भाषा बोलेको भन्दै डा. केसीले मागे मन्त्री बस्नेतको राजीनामा

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ताको रुपमा चिनिएका डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

दुर्गा प्रसाइँको भाषा बोल्दै मन्त्री बस्नेतले आफूलाई मेडिकल माफियाहरुबाट सञ्चालित भनेपछि डा. केसी रुष्ट भएका हुन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई उल्टै ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् । 

Advertisement

मन्त्री बस्नेतले पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै केसीले तत्काल पदमुक्त गर्न माग गरेका हुन् । मेडिकल व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र ध्वस्त पार्ने काम डा. केसी र उनको समूहले गरेको र सोही कारण हजारौं नेपाली नेपालमा पढ्न नपाएर विदेश जान बाध्य भएको, देशबाट अर्बौं रुपियाँ बाहिरिने परिस्थिति निर्माण भएको बताउँदै आएका थिए । शनिबार राष्ट्रिय ट्रमा सेन्टरको कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले पनि प्रसाइँकै भाषा बोल्दै केसीको कडा आलोचना गरेका थिए । 

उनले भनेका छन्, ‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो । यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो ।  निजलाई तत्काल पदमुक्त गरियोस् ।’

यस्तै, मन्त्री बस्नेतले मर्यादा विपरीतका क्रियाकलाप गरी आइरहेको आरोप केसीले लगाएका छन् । उनले भनेका छन्, ‘स्वास्थ्यमन्त्रीको पद सम्हालेदेखि नै माफियाहरुको पक्षमा नग्न रुपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित सरकारी निकायलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन् ।’

स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्यसम्बन्धी ज्ञान, अनुभव नभएको र उनले जान्ने प्रयास समेत नगरेको आरोप लगाउँदै उनले बस्नेतलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गरेको आरोप लगाएका छन् । यसलाई केसीले ‘यो राजनीतिक तथा सामाजिक अपराध हो’ भनेका छन् ।

Advertisement