निजी अस्पतालले सरकारले तय गरेको १० प्रतिशत निःशुल्कको मापदण्ड पालना गरेका छैनन्ः तोषिमा

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल संचालन ऐन ल्याउन जरुरी रहेको बताएकी छन् । 

मंगलवार संसद बैठकको शुन्य समयमा उनले स्वास्थ्य संस्था तथा अस्पतालसम्बन्धि मापदण्ड कार्यान्वयन नभएकाले पनि सो ऐन ल्याउन सरकारले ढिलाई गर्न नहुने बताइन् । 

Advertisement

कार्कीले विपन्न नागरिकका लागि १० प्रतिशत शैय्या निःशुल्क उपलब्ध गराउने मापदण्ड समेत अस्पतालहरुले पालना नगरेको दृष्टान्त पेश गर्दै त्यस्ता अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारले ऐनमा नै स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् । 

सरकार अस्पताल, निजी अस्पताल, सामूदायिक अस्पताल, मेडिकल कलेजमा सञ्चालित अस्पतालहरुलाई विपन्न नागरिकको पक्षका काम गराउन पनि सरकारले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने कार्कीको भनाई छ । 

उनले भनिन्, ‘स्वास्थ्य संस्था सञ्चालन सम्बन्धि मापदण्ड २०७७ को दफा ७० घ मा स्वास्थ्य संस्था तथा अस्पतालहरुले अनिवार्य रुपमा विपन्न नागरिकको लागि १० प्रतिशत शैया छुट्टयाई नागरिकलाई निःशुल्क सेवा दिनुपर्छ भनिएको छ । तर यो लागू भएको छैन । यसको नियमन पाटो झन फितलो छ । १० प्रतिशत सेवा नदिँदा कारबाही के हुने भन्ने स्पष्ट व्यवस्था छैन । अनौपचारिक अनुगमनमा जाँदाखेरी मापदण्ड मन्त्रालयको निर्देशनमा मात्र सीमित भएको देखिन्छ । सरकारी अस्पताल, निजी अस्पताल, सामूदायिक अस्पताल कसरी संचालन गर्ने, सेवा सुविधा के हुने, सेवा नदिएमा दण्ड के हुने ? भन्ने स्पष्टताका लागि नेपाल अस्पताल संचालन ऐन ल्याउन जरुरी छ । ’

सांसद कार्कीले निजी अस्पतालहरुले सरकारले तय गरेको मापदण्ड पालना नगरेको पनि गुनासो गरिन् । 

Advertisement