पेम्बाको भरियादेखि ‘इन्टरनेशनल गाइड’सम्मको यात्रा, कसरी बनाए विश्व रेकर्ड ?

Advertisement

काठमाडौं । गएको असोज १० गते बिहान ७ बजे मनास्लु हिमालको बिना अक्सिजन १२ घण्टामा आरोहण गरी नयाँ कीर्तिमान बनाउने माउन्टेन गाइड (हिमाली पथप्रदर्शक) पेम्बा ग्याल्जे शेर्पाले इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एसोसिएसनमा आवद्ध पथप्रदर्शक पनि हुन् । 

मनास्लु (८,१६३ मिटर) विश्वको आठौं अग्लो हिमाल हो । माउन्टेन गाइड शेर्पाले यसअघिको रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले इमाजिन नेपाल ट्रेक्समार्फत मनास्लुआरोहण गरेका हुन् । साँझ ७ बजे मनास्लु आधार शिविरबाट आरोहण सुरु गरी भोलिपल्ट बिहान ७ बजे मनास्लुको चुचुरोमा पुगेका शेर्पाले यसअघिको १३ घण्टाको कीर्तिमान तोड्दै १२ घण्टामा शिखरमा पुगेका हुन् । 

Advertisement

उनीसँग कपोरेट नेपालकी फुर्पा शेर्पाले गरेको छोटो कुराकानीः 

मनास्लु हिमालमा कायम गरेको पूरानो रेकर्ड तोड्ने सोच कसरी बन्यो ?
मैले मनास्लु हिमाल सफल आरोहण गरेको तीन पटक पुग्यो । नेपाल संसारभर हिमालले चिनेको छ । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये आठ वटा नेपालमै छ । विदेशीहरु नेपाल आउँछन् । उनीहरुले हिमालमा फरक फरक रेकर्ड कायम गर्छन् । उक्त सफलतापछि पनि उनीहरुले आफ्नो देशमा सम्मान पाउँछन् । तर नेपालमा धेरै आरोहीहरु शेर्पाहरु छन् । सबै भन्दा पर्वतारोहीहरु भएको देश नेपाल हो । उनीहरुले धेरै रेकर्ड बनाएका छन् । तर, त्यसको मूल्य पाएका छैनन् । सम्मान पाएका छैनन् । म ‘रक क्लाइम्बिङ नेसनल च्याम्पियन’ पनि हो । नेपालका हिमालहरुमा विदेशी आरोहीहरुले विभिन्न रेकर्ड बनाएको कुराले गर्दा पनि म आफू पनि एक गाइड गर्ने भएकोले मलाई म आफैलाई नै चेक जाँज गर्न मन लाग्यो । त्यसरी सुरु भयो मनास्लुमा ‘स्पिड रेकर्ड’ तोड्ने योजना । 

यो योजना मेरो गत वर्षदेखिको हो । पहिले नै मैले मनास्लु दुई पटक सफलतापूर्वक आरोहण गरिसकेकोले सफल हुन्छ भन्ने विश्वास थियो । शेर्पाहरुकै सहयोगले गर्दा विदेशी आरोहीहरुले हिमालमा सफलतापूर्वक आरोहण गरिरहेका छन् । त्यसैले हामी शेर्पाले पनि प्रयास गर्दा किन नसक्ने ? त्यसपछि म मनास्लु बेस क्याम्प पुगें । मनास्लु हिमालमा ‘स्पिड रेकर्ड’ कायम गरेको इटालियन नागरिक फ्रान्कोइस क्याजेनेलि पनि मेरो साथी हो । उनको रेकर्ड तोड्न धेरै देशका जस्तै फ्रान्स, जर्मनीका प्रसिद्ध विदेशी आरोहीहरुले तीन वर्ष प्रयास गरेको थियो । तर सफल भएन् । कुनैलाई १४ घण्टा, कुनैलाई १७ घण्टा लाग्यो । 

म एक त शेर्पा, आरोही, पर्वतारोही, माउन्टेन गाइड, हिमाली क्षेत्रमा जन्मिएकाले पनि मैले किन नसक्नु ? भने प्रश्नले पनि एक किसिमको हौसला मिल्यो । त्यहाँ अर्को एक जना अमेरिकी पनि इटालियन नागरिकको रेकर्ड तोड्न आएका रहेछन् । उनी दौडमा दुई पटक विश्व च्याम्पियन रहेछन् । हामी दुईको एउटै उद्देश्य भयो। तर त्यो कुरा मलाई थाहा थिएन । अमेरिकनले सोही दिन साँझ ६ बजे मनास्लुको आरोहण सुरु गर्ने योजना बनाएको रहेछ र मेरो पनि त्यही साँझ ७ बजे जाने योजना थियो । तर हाम्रो अगाडी भेट भएन । मनास्लुको बेस क्याम्पबाट म समिटमा जाने तयारीमा थिएँ । त्यही बेला ६ः३० बजे नै उनी चुचुरोतर्फ हिँडिसकेको खबर पाएँ । त्यो खबरले मलाई मनमा थोरै डिमोटिवेट जस्तै महशुस भएको थियो । साथीहरुले पनि अमेरिकन निकै खतरा छ, १० मिनेटमा कहाँ पुग्छ भनेर सुनाए । त्यसपछि मलाई के गरौं ? जस्तो पनि भयो । त्यही पनि म आफ्नो उद्देश्यतर्फ नै आफूले योजना गरेको समय ७ बजेपछि पूजा गरेर हिँडे मनास्लु हिमालतर्फ । जब म क्याम्प–३ मा पुगें, त्यहाँभन्दा केही माथिबाट दुई–तीन जना आरोही फर्किरहेको देखें । केहीबेरमै थाहा भयो त्यही अमेरिकन पो रहेछ । उनीहरु बीचबाट किन फर्किएको हो ? थाहा भएन् । तर म चाहिँ आफ्नो उद्देश्यतर्फ लागें ।  

मनास्लुको चुचुरो आरोहण गर्दा कुन बेला धेरै गाह्रो महशुस भयो ?
म मनास्लु बेस क्याम्पबाट क्याम्प–३ मा चार घण्टामा पुगे । क्याम्प–४ पछि हिमाल आरोहणको सिजन भएकोले फल समिटबाट रियल समिटमा जाने क्रममा अल्ली पर्खिनुपर्यो । किनभने सिजन भएकाले अन्य आरोहीहरु मनास्लु आरोहण गर्न जाने लाइनमा थिए । त्यती बेला मलाई केही गाह्रो भएको थियो । त्यहाँ पर्खिनुपर्यो । पर्खिनुभन्दा पनि अन्य आरोहीहरुलाई पार गर्दै जानुपर्ने थियो । हिमालमा आरोहीहरुलाई पार गरेर जान गाह्रो हुन्छ । त्यही बेला मलाई अलिकति गाह्रो महशुस भएको थियो । 

मनास्लुको चुचुरोमा बिना अक्सिजन पुग्दा र स्पिड रेकर्ड राख्न सफल हुँदा कस्तो महशुस गर्नुभयो ? 
म मनास्लुको चुचुरोमा पुग्दा मौसम पनि निकै राम्रो थियो । इमाजिन नेपालको मिङमा दाईले मौसमबारे जानकारी दिनुभएकोले पनि म सफल भए । मनास्लु आरोहण गर्न आर्थिक सहयोग गर्ने मेरो एक जना आफन्त अमेरिकामा हुनुहुन्छ । उहाँले चाहिँ नेपालको जति पनि हिमाल छ, त्यसमा हामी नेपालीले नै रेकर्ड राख्नुपर्छ भनेर मलाई हौसला दिनुभएको थियो । फल समिटबाट रियल समिटमा पुग्न करिब २५० मिटर जति लाग्छ । घुमेर उकालो जानुपर्छ । त्यो बाटोमा अलिकति ट्राफिक जाम भएको थियो । त्यहाँ सबै मैले चिनेकै शेर्पा नै थिए । मैले उनीहरुलाई हात जोडेर म बिना अक्सिन आएको हुँ, मलाई प्लिज अगाडी जान दिनु भनेर अनुरोध गर्दै अगाडि बढें । उनीहरुले पनि बिना अक्सिजन आएको देख्यो । नत्र भने मलाई अझ धेरै समय लाग्थ्यो । नत्र उछिनेर जाने ठाउँ नै हुन्न । त्यस्तोमा कसरी जाने ? त्यसपछि म मनास्लुको चुचुरोमा पुगें र त्यहाँ करिब १० मिनेट जति बसें । त्यस कारण हाम्रो हिमालमा हामी नेपालीहरुले नै रेकर्ड राख्नुपर्छ भन्ने मलाई लाग्छ । 

हिमाल आरोहण क्षेत्रमा चाहिँ कसरी लाग्नुभयो ?
भरियाको रुपमा काम गर्दागर्दै र गाइडहरुले गरेको गाइडिङले नै मलाई यस क्षेत्रमा आउन प्रेरित गरेको हो । म सोलुखुम्बुको खरिखोलामा जन्मिए । मेरो परिवारको सदस्य धेरै भएकोले सबैलाई विद्यालयमा पढाउने क्षमता थिएन् । त्यही कारणले मलाई गुम्बामा राखिदिनुभयो परिवारले । त्यसपछि गुम्बामा मेरो ९ वर्ष बित्यो । हाम्रो परिवार नै १२ जनाको छ । गुम्बाको लामो समय बसाइपछि २००६ देखि २००८ सम्म दुई वर्ष पोटर (भरिया)को रुपमा लुक्लामा काम गरें । त्यसपछि काठमाडौंमा २००८ मा आएँ । आएको एक वर्षपछि म मेरा पिक आरोहण गर्न गएँ । मेरा पिक आरोहण गर्दासम्म मसँग आरोहण र गाइडिङसम्बन्धी तालिम थिएन् । म आफ्नो दाईसँग सहायकको रुपमा गएँ र मेरा पिक सफलतापूर्वक आरोहण पनि गरें । मेरो दाई पनि अन्तर्राष्ट्रिय माउन्टेन गाइड नै हुनुहुन्छ । भविष्यमा तालिम लिएर काम गर्न सके यसको दायरा रहेछ भनेर मेरा पिकको सफल आरोहणसँगै मैले गाइडको काम गर्ने निर्णय गरें । तालिमहरु लिएर अरु हिमाल आरोहण गरें र २०११ मा सगरमाथाको पनि सफल आरोहण गरें । 

सुरु सुरुमा मैले हिमाल आरोहण गर्न जँदा धेरै चुनौती भोग्नु पर्यो । किनभने मसँग त्यसबारे केही ज्ञान नभएर । मेरो दाईबाट नै धेरै कुराहरु सिकें । पहिलो पटक हिमालमा पाइला टेक्दा चुचुरोमा पुगिसकेपछि बिहानको घाम देख्दा, त्यो दृश्यले मनै लोभ्यायो मेरो । मेरा पिकको चुचुरोमा पुग्दा स्वर्ग भनेको यो नै हो जस्तो महशुस भएको थियो । मेरा पिकको आरोहणसँगै आरोहण गर्न मन जागेर आयो । हिमालबाट तल झरिसकेपछि फेरि कहिले हिमाल आरोहण गर्ने होला ? भनेर मनमा प्रश्न आउनथालेको थियो । त्यसपछि मैले हिमाल आरोहण, गाइडिङसम्बन्धी तालिमहरु लिएँ । अहिले म इन्स्ट्रक्टर पनि हुँ । इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाईड्स एसोसिएसनको गाइड हुँ । यस्तो गाइड हुन् ६ वर्षदेखि ८ वर्ष लाग्छ । तर मलाई एसोसिएसनको गाइड बन्न करिब ५ वर्ष मात्रै लाग्यो । 

हालसम्म कति वटा हिमाल आरोहण गरिसक्नुभयो ?
हालसम्म सगरमाथा, केटु, मकालु, कञ्चनजङ्घा, चो ओयु, मनास्लु, अमा दब्लम, हिमलुङ, चोलात्से, आइल्याड पिक, मेरा पिक, लोबुचेलगायतका पिकहरुको सफल आरोहण गरिसकेको छु । दाईले मलाई सगरमाथाको क्याम्प–२ को कुक (भान्से)को रुपमा लिएर जानुभएको थियो । र, सफलतापूर्वक सगरमाथा आरोहण पनि गरें । सगरमाथाको आरोहण गर्ने मौका त्यतिकै पाएको थिएन् मैले । क्याम्प–२ र सगरमाथा बेस क्याम्पको बिचमा मैले १९ पटक ओहोरदोहोर गरेको थिएँ । त्यसपछि मात्र मलाई सगरमाथा आरोहण गर्ने मौका दियो । म सगरमाथा चुचुरोमा पुग्दा खुःसीले भन्दा पनि दुःखले रोएँ । किनभने चुचुरोमा पुग्दा मेरो टाउकोमा नाम्लो थियो जुन कुराले मलाई निकै दुःख लागेको थियो । त्यसमाथि चिसो खुट्टा पनि निकै ‘फ्रस्टबाइट’ भएको थियो । मलाई सगरमाथाको चुचुरोमा पुग्न भन्दा मेरा पिकको चुचुरोमा पुग्दा धेरै खुःसी लागेको थियो । किनभने मेरा पिकमा मैले भारी बोकेको थिएन् । मेरो टाउकोमा नाम्लो थिएन् । अहिले पनि सगरमाथा चुचुरोमा शेर्पाको ठाउकोमा नाम्लो हुन्छ । त्यही कुराको दुःख सम्झेर नै म गाइड बन्छु, भारी बोक्ने मान्छे होइन, केही न केही गरेर देखाउँछु भनेर हिँडेको । सोही कारण मैले गाइडसम्बन्धी तालिमहरु लिएँ । अरुलाई पनि तालिम लिन प्रोत्साहन गरिरहेको छु । मैले मेरो गाउँको २५० जनालाई तालिम दिइसकेको छु । त्यही दुःखलाई सम्झेर मेरो उमेरको साथीहरुलाई सहयोग गर्नुका साथै तालिम पनि दिइरहेको छु । मैले सगरमाथा ११ पटक आरोहणको लागि गएँ । तर आठ पटक मात्र आरोहण गर्न सकें । तीन पटक सफल नहुनुको कारण मेरो क्लाइन्टहरु चुचुरोमा नपुगी फर्किनुपरेकाले हो । २०१४ देखि २०१७ सम्म कसैले कञ्चनजङ्घा हिमालको आरोहण गर्न नसकेको र बाटो खोल्न सकेको थिएन् । २०१७ मा म पनि त्यहीं थिएँ । हामीले पनि आरोहण गर्न पाएन । २०१८ मा चाहिँ कञ्चनजङ्घाको बाटो खोल्यौं । चार वर्षपछि कञ्चनजङ्घाको बाटो खोल्ने व्यक्ति म नै हो । म कञ्चनजङ्घा बेस क्याम्पबाट सिधै समिट गएको थिएँ । म २६ घण्टामा कञ्चनजङ्घाको चुचुरोमा पुगेको । क्याम्प–४ भन्दा माथि मैले डोरी बिना नै चुचुरोमा पुगेको हो । कञ्चनजङ्घा हिमालको क्याम्प–४ सम्म सजिलो र क्याम्प–४ भन्दा माथि हत्तपत्त कसैले रुट खोलेर जाँर्दैन । 

Advertisement

Advertisement