दुई सहकारीका आठ सञ्चालक पक्राउ, लालुपाते सहकारीका ३५ जनाको बयान शुरु

Advertisement

पर्वत/खोटाङ ।  सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहाकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ परेका हुन् । दुवै सहकारीका अन्य सञ्चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Advertisement

उनीहरुलाई सहकारी ऐन २०७४ अन्तर्गत सहकारी ठगी गरेको कसूरमा पक्राउ गरिएको हो । अहिले जिल्ला अदालतवाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख भुसालले जानकारी दिए । सहकारी रजिष्ट्रारको कार्यालय पोखरावाट विज्ञ बोलाएर पनि अनुसन्धान भइरहेको छ । 

लालुपाते सहकारी बचत घोटाला प्रकरणः ३५ जना  प्रतिवादीविरुद्धको बयान सुरु
यता, खोटाङ दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसूरमा ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा अभियोगपत्र दायर गरेको छ । बचतकर्ताको लगानी अपचलन आरोपमा सहकारीका वर्तमान तथा निवर्तमान सञ्चालक समिति, सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी (मृतक) तथा जोशीका परिवार, सहकारीका प्रबन्धक, लेखापाल र ऋणीविरुद्ध अभियोगपत्र दायर गरेको हो । 

मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ३२ बमोजिम प्रतिवादीविरुद्ध सरकारी वकिलले तयार गरेको अभियोगपत्र दायर भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले जानकारी दिए । सहकारीका दुई सय ६५ बचतकर्ताले ३५ प्रतिवादीबाट रु चार करोड ४० लाख ६१ हजार १८ बिगो माग दाबी गरेका छन् । 

अभियोगपत्र पेस भएसँगै प्रतिवादीमध्ये हिरासतमा रहेका नौ जनाको बिहीबारदेखि बयान सुरु गरिएको श्रेस्तेदार खड्काले जानकारी दिए । “बयान सकिएपछि सरकारी वकिल र प्रतिवादीका तर्फबाट मुद्दा लड्ने वकिलबीच बहस हुन्छ । बहस सकिएपछि उनीहरुलाई थुनामा राख्ने, तारिखमा छाड्ने वा धरौटीमा छोड्ने निर्णय हुन्छ”, उनले भने, प्रतिवादीमध्ये २६ जना “फरार सूचीमा रहेका छन् । उनीहरु आफैँ पनि अदालतमा हाजिर हुनसक्छन् । यदि हाजिर नभएको खण्डमा पक्राउ गरेर ल्याइन्छ ।”आफूहरुले जम्मा गरेको बचत डुबाइदिएको भन्दै बचतकर्ताले विसं २०७९ फागुन–२ गते पहिलो पटक सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । 

केही समयअघि सञ्चालक र केही ऋणीविरुद्ध पनि बचतर्कर्ताले जाहेरी दिएका हुन् । बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखासमिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले कात्तिक–१२ गते पक्राउ गरेको थियो । यस्तै, सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशी र सुनिलकी श्रीमती रविना जोशी (श्रेष्ठ) गत असोज–१३ गते तथा तत्कालीन प्रबन्धक रुकु जोशी असोज–१७ गते काठमाडौँबाट पक्राउ परेका  हुन् । 

तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदा पौडेललाई गत कात्तिक– १५ गते चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्य २६ प्रतिवादी भने फरार सूचीमा रहेका छन् । प्रहरीले पक्राउ परेका नौ जनालाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकिलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो । 

प्रहरीले सङ्गठित अपराध अन्तरगतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकिलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो । बचतकर्ताले रु आठ सयदेखि रु ५५ लाखसम्म आफ्नो बचत रकम फिर्ता गरिदिन माग गर्दै निवेदन दिएको प्रहरीले जनाएको छ । विसं २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।   

तत्कालीन अध्यक्ष जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । 

तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख–१६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । प्रहरीका अनुसार सहकारीबाट ५९ वटा खातामा रु चार करोड ४७ लाख ६ हजार नौ सय ६७ ऋण प्रवाह भएको पाइएको छ । सहकारीबाट ऋणीलाई रु २५ हजारदेखि रु ९९ लाखसम्म ऋण दिइएको देखिएको छ । त्यसमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको प्रहरीले जनाएको छ । 

चार जनालाई तमसुकबिनै ऋण दिएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । “सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी सङ्कटमा फसेको देखिएको छ । सहकारीको निक्षेप रु चार करोड ४७ लाख ५७ हजार दुई सय २१, शेयर पुँजी रु ५१ लाख १४ हजार सात सय ८१, जगेडा कोषमा रु १९ लाख ५८ हजार चार सय ९२ र संस्थागत कोषमा रु २४ लाख ८६ हजार पाँच सय ६४ देखिन्छ”, उहाँले भन्नुभयो, “रु चार करोड ९० लाख ९७ हजार तीन सय ९३ तिर्नुपर्ने देखिएको छ । वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ छैन ।”

सहकारीको नाममा हलेसीमा ४८ लाखमा खरिद गरिएको ६ रोपनी तीन आना एक पैसा १ दाम ९दुई कित्ता० जग्गा अध्यक्ष जोशीको भाइको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ । 

तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ । बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणवद्ध आन्दोलनमा छन् । डुबेको सावा र ब्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा सङ्घर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दै आएका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने असफल प्रयास गरेको थियो । 

लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच जनाले ऋण फिर्ता गरेका छन् । कमल गिरीले रु दश लाख, निकिता राईले रु दुई लाख, नवराज थापाले रु एक लाख ५० हजार, राजन सैंजूले रु एक लाख ३५ हजार र इन्द्र श्रेष्ठले रु ३१ हजार ऋण फिर्ता गरेको प्रहरीले जनाएको छ ।

यसअघि दुवै सहकारीका बचतकर्ताले जम्मा गरेको रकम भुक्तानी नपाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले केही दिन पहिले सूचना जारी गर्दै दुवै सहकारीका बचतकर्तालाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट मुद्दति प्रमाणपत्र लगायतका सक्कल कागजातसहित प्रहरी कार्यालयमा आउन समेत सुचित गरेको थियो । रासस

Advertisement

Advertisement