भारतले प्रतिबन्ध गरेपछि नेपालमा लाइटर आयातमा बहार, पाँच महिनामै भित्रियो १४ करोड थान

Advertisement

काठमाडौं। भारतले सस्तो लाइटर आयात प्रतिबन्ध गरेपछि नेपालमा भने अस्वभाविक रुपमा आयात बढेको छ । भारतमा आयात प्रतिबन्ध भएयता मात्रै नेपालमा १४ करोड थानभन्दा धेरै लाइटर आयात भएको सरकारी तथ्यांकले देखाउँछ । 

यस्ता लाइटरहरु भारत अवैध निकासी गर्न चिनियाँ नाकाबाट ठूलो परिमाणमा आयात हुने गरेको हो । चुरोट सल्काउन प्रयोग गरिने लाइटर दुई प्रकारका हुन्छन् । एउटा पुनः ग्याँस भर्न मिल्ने र अर्को नमिल्ने । प्रदुषण बढाएको भन्दै भारतले दुवै किसिमका लाइटरमाथि केही महिनाअघि प्रतिबन्ध लगाएको थियो । प्लास्टिकका लाइटरले प्रदुषण बढेको भन्दै भारतले सस्ता लाइटर आयातमा कडाई गरेको बेला नेपालमा भने यसको खुलेआम कारोबार भएको छ ।  

Advertisement

प्रतिबन्धसँगै भारतमा लाइटरको माग बढेपछि नेपाली ट्रेडिङ व्यवसायीहरु आयातमा लागिपरेका छन् । मनग्य नाफामा बिक्री गर्न सकिने यस्तो लाइटरहरु आयात गर्न व्यापारीहरुबीच प्रतिस्पर्धा भए पनि सरकारले भने कुनै निगरानी गरेको छैन् । 

यद्यपि लाइटर आयात अस्वभाविक देखेकोले आफूहरु विशेष निगरानीमा लागेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले दावी गरे । उनले भने, ‘लाइटरको अस्वाभाविक आयात देखिएपछि हामीले निगरानीमा राख्दै भन्सार महसुल बढाएका छौं । चालु वर्षको पाँच महिनामै १४ करोड थान आइसकेको पाइएको छ ।’ चोरीपैठारीबाट आउने लाइटर यसमा गणना छैन् ।   

नेपाली व्यवसायीहरुले लाइटर चीनबाट झिकाइरहेका छन् । छोटो समयमै ५० कन्टेनर लाइटर तातोपानी भन्सार नाकाबाट जाँचपास भइसकेको तातोपानी भन्सार कार्यालय प्रमुख दयानन्द केसीले बताए । उनले भने, ‘स्वदेशी प्रयोगकै लागि भनेर व्यवसायीहरुले धमाधम लाइटर आयात गरिरहेका छन् । चालु आर्थिक वर्षमै ५० कन्टेनरभन्दा बढी लाइटर कार्यालयबाट जाँचपास भइसकेको छ । अझै बाँकी ३० कन्टेनर जति बाटोमा आउने क्रममा छ ।’

लाइटर आयात गर्दा सुरक्षाको मापदण्ड समेत पुरा गर्नुपर्ने हुन्छ । नेपाली व्यवसायीले भने मापदण्ड पूरा नगरी सामान आयात गर्दा चिनियाँ भन्सारमा समस्या झेल्नुपरेको छ ।

बिचमै बढ्यो भन्सार महसुल
नेपालमा आन्तरिक प्रयोगभन्दा निकै बढी मात्रामा लाइटरको आयात भएपछि भन्सार विभागले बिचमै महसुल बढाइदिएको छ । विभागका अनुसार रिफिल (पुनः प्रयोग) गर्न नमिल्ने लाइटरको चार अमेरिकी सेन्ट (पाँच रुपियाँ ३४ पैसा)बाट बढाएर छ सेन्ट (सात रुपियाँ) बनाइएको छ । यस्तै, रिफिल गर्न मिल्ने लाइटरको भन्सार महशुल पाँच सेन्ट (छ रुपियाँ ६५ पैसा)बाट सात सेन्ट (नौ रुपियाँ ३१ पैसा) पुर्याइएको छ । लाइटर बोकेको एक कन्टेनरले यसअघि १२ लाख भन्सार महशुल तिर्नुपर्नेमा अब १९ लाख तिर्नुपर्ने भएको छ ।

यसरी लगिन्छ भारत
भारतको कानुनी ‘लुप होल’लाई प्रयोग गरेर व्यवसाय गर्ने नेपाली आयातकर्ताको पूरोनो व्यापार शैली छ । सामान मात्रै फेरिए पनि व्यापार शैली भने एकै किसिमको रहेको छ । चीनबाट आयात भएको लाइटर नेपाली व्यवसायीले आफ्नो गोदाममा राख्ने गर्दछन् । यसपछि भारततर्फको सेटिङ मिलाएपछि उनीहरुले सिमा नाकाको केही व्यापारीलाई बिक्री गरेको कागजी प्रमाण तयार गर्छन्।

यी कागजी प्रमाणको आधारमा व्यवसायीले सिमा नाका नजिक सामान पुर्याएर भारत पठाउने गर्छन् । यस्तो तस्करी डलरमा आयात गरेर भारुमा निर्यात गर्ने परिपाटी छ जसमा निर्यात भने अवैध बाटोबाट हुने गरेको छ । यसले अनौपचारिक व्यापारलाई प्रोत्साहन गरेको विभागको भनाई छ ।   

Advertisement