नेपालमै किन लगानी गर्ने ? भनेर लगानीकर्ताले प्रश्न गरे जवाफ हामीसँग छः अर्थमन्त्री महत

Advertisement

काठमाडौं । अरु देशभन्दा नेपालमै किन लगानी गर्ने ? भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । 

आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि उनले भने, ‘नेपालमा धेरै माग छ । आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन् ।’

Advertisement

महतले ‘लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् ? हामीले के कुरामा सुधार गर्नुपर्छ ? भन्नेमा लागिरहेका छौँ’ भन्दै साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिने बताए । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको उनले दावी गरे । 

लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ ? भन्नेबारे विकास साझेदारसँग छलफल भएको अर्थमन्त्री महतको सचिवालयले बताएको छ । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ ? भन्नेबारेमा छलफल भएको जनाइएको छ । 

छलफलमा महतले ‘सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संससबाट चाँडै पारित भएर आउने बताउँदै सबै खालका समस्या र चुनौती हटाउन आफू लागिपरेको बताए । 

छलफलमा मुख्य सचिव बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार गरिरहेको बताए । उनका अनुसार तेस्रो लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले आन्तरिक तयारी तीब्र पारेको छ ।

सम्मेलन आयोजना गर्नका लागि गठित निर्देशक र कार्यान्वयन समितिको बैठक बसिसकेको र  सार्वजनिक–निजी साझेदारीमा नेपालमा लगानी गर्नका लागि के कस्ता कानुनी र प्रक्रियागत समस्या समाधान गर्न आवश्यक छ ? भन्नेबारे छलफल भएको जनाइएको अर्यालले बताए । सम्मेलनका क्रममा सोकेसमा राखिने आयोजनाको पूर्वतयारीका विषयमा पनि छलफल भएको थियो ।

अगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने अर्थ मन्त्रालयले तयारी गरेको हो । 

Advertisement

Advertisement