लयमा फर्कंदै अर्थतन्त्रः विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब, १३ महिनाको आयात धान्न पर्याप्त

Advertisement

काठमाडौं । मुलुकको अर्थतन्त्र लयमा फर्किएको छ । 

राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ४ महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार रेमिट्यान्स २६ प्रतिशतले बढ्दा विदेशी मुद्रा सञ्चिती १० प्रतिशतले बढेको छ । यसले १३ महिना बढीको आयात धान्ने देखिएको छ । रेमिट्यान्स २६ प्रतिशतले बढ्यो, चार महिनामै ४ खर्ब ७७ अर्ब भित्रियो

Advertisement

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भई २०८० कात्तिक मसान्तमा रु.१६९६ अर्ब ७८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रु.१४९० अर्ब ८३ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्घि भई रु.२०५ अर्ब ९५ करोड कायम भएको छ । २०८० कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।

undefinedसञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता रु.९६ अर्ब ३८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३७ अर्ब ७९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई रु.१ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४२ करोड ९२ लाख रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२० अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

Advertisement

Advertisement