नेपालमा ४५ प्रतिशत वनजंगल छ, तर फर्चिनर विदेशबाट आयात गर्नुपर्ने अवस्था छः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था रहेको स्वीकार गरेका छन् । 

पाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारणसभा  तथा पाँचौ महाधिवेशन उद्घाटनका क्रममा शनिबार उनले काठको सट्टा स्टिलका फर्निचरको उपयोग बढ्दै जानु हाम्रा लागि सुखद् होइन भने । फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको महतको भनाई छ । 

Advertisement

उनले भने, ‘फर्निचरको क्षेत्रमा हामी आत्मनिर्भर बन्न सकिन्छ । निर्यातको पनि प्रशस्त सम्भावना छ । कला संस्कृतिको हिसाबले पनि नेपाल समृद्धि छ । हामीले विशिष्ठ किसिमका फर्चिनर निर्माण गर्न सक्छौं, जसको माग देशबाहिर पनि हुनसक्छ । यो व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध छ । हाम्रो बजेटको नीतिअनुसार तयारी सामानमा बढी भन्सार, यही उत्पादन हुने तर बाहिरबाट ल्याइने कच्चा पदार्थमा थोरै भन्सार दर लाग्दछ । यही उद्योग व्यावसाय फस्टाउन सकोस् भनेर सरकारले यो नीति अवलम्बन गरेको हो ।’

स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकारको नीति रहन्छ भन्दै मन्त्री महतले सरकारी अथवा निजी घरमा बाहिरी फर्निचर उपयोग भइरहेको र ती फर्निचर हेर्दा राम्रो देखिए पनि टिकाउ नहुने बताए । उनले यस्ता कुरा उपभोक्तालाई सूचित गर्न जरुरी रहेको बताए । 

मन्त्री महतले भने, ‘हाम्रा उत्पादन पनि आकर्षक र टिकाउ हुन जरुरी छ । ऐन, नियम र कानुनले फर्निचर उद्योगमा समस्या आएको भनिएको छ, त्यसलाई फुकाउन सरकार लागेको छ । नेपाली उद्योगलाई सहज गर्ने कुरामा हामीले सहयोग पुर्याउनुपर्छ । वनमा काठ कुहिएर जाने, उपयोग नहुने व्यवस्था हट्नुपर्छ । आयातित बस्तुसँग प्रतिस्पर्धा गर्ने गरी हामीले काम गर्नुपर्छ । यो व्यावसायमा हामी आत्मनिर्भर भएर बाहिर निर्यात गर्ने अवस्थामा हामी पुग्नुपर्छ ।’

Advertisement