यो लुटाहातन्त्र अब हामी धेरै धान्न सक्दैनौंः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् । 

आफ्नो पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आईतवार आयोजना गरेको महिला भेलामा उनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर पनि गरे । सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरुले गरिरहेको लिङदेनको भनाई थियो । 

Advertisement

उनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको बताए । नेता लिङदेनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

उनले भने, ‘नेपालको निर्णायकत्व नेपालीको हातमा हुनुपर्छ भनेर हामीले गत निर्वाचनमा मुल नारा बनाएका थियौं । यो नारा किन अगाडि सारेका थियौं भन्दाखेरी नेपालको सरकार कसेको हुनु पर्छ, कसको नेतृत्वमा हुनुपर्छ ? चुनावमा पनि कुन पार्टी, कुन पार्टी मिलेर चुनाव लड्नुपर्छ ? भन्ने कुरा समेत विदेशीहरुले तय गर्न थाले । अहिले त्यही कुरा भईराखेको छ । विदेशीहरुको दबाब, प्रभावमा भईरहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिँड्छ । अहिले देशको स्थिति के छ ? तपाई भोलि बिहान उठ्दाखेरी प्रधानमन्त्री आफैँले समीकरण परिवर्तन गरिसकेको हुन्छ । उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ ।’ 

लिङदेनले थपे, ‘सत्ता मात्रै छ होइन कि सत्ता के, का लागि छ ? भन्दाखेरी एउटा त मिलिजुली बाँकि रहेको देशमा लुटने र अस्ती लुटेको कारबाहीबाट जोगिने । यसबाट जोगिनका लागि उनीहरु जोडिने । यो कहिलेसम्म देशले धान्नसक्छ ? यो अवस्था हामीले कहिलेसम्म हेरेर बस्नसक्छौं ? यो अवस्थाबाट देशलाई मुक्त गर्नुपर्छ । देशलाई यो अवस्थाबाट मुक्त गर्नुपर्छ भन्ने इमान्दार राजनीतिक पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हो ।’

उनले आफूहरुले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको बताए ।

Advertisement

Advertisement