धान उत्पादन चार वर्षयताकै उच्च, जमिन भने घट्यो

Advertisement

काठमाडौं । पछिल्लो चार वर्षको तुलनामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै धान उत्पादन भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको छ । गत आवको तुलनामा चालू आवमा ४.३३ प्रतिशतले धान उत्पादन बढेको हो । गत आवमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो । 

त्यसैगरी, पछिल्ला चार वर्षको औसत उत्पादनको तुलनामा चालू आवमा ५.०८ प्रतिशतले उत्पादन बढेको मन्त्रालयले जनाएको छ । 

Advertisement

यद्यपि, धान उत्पादन बढे पनि धान खेती भएको जमिन भने घटेको देखिएको छ । कुल धानखेती लगाइएको क्षेत्रफल गत आवको तुलनामा ०.६१ अर्थात् ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम भएको मन्त्रालयले जनाएको छ । 

यस वर्ष धानखेती भएको क्षेत्रफल भने पछिल्लो चार वर्षको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम हो । धानको उत्पादसँगै उत्पादकत्व पनि बढेको छ । धानखेतीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो ।’

चालु आवमा धान उत्पादन कोशी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ । उत्पादकत्वतर्फ कोशी प्रदेशमा ४.४३ मेट्रिन टन प्रतिहेक्टरसहित अग्रस्थानमा र मधेस प्रदेश ३.४९ मेट्रिकटन प्रतिहेक्टर पुछारमा छ । विगतका वर्ष जस्तै मुख्य धानको तुलनामा चैते धानको उत्पादकत्व उच्च कायम भएको मन्त्रालयले जनाएको छ । 

गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा र मधेस प्रदेश ऋणात्मकमा छ । चालू आवमा धान उत्पादन वृद्धि हुनुमा उन्नत बीउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कम बाढीपहिराबाट धान चालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ । 

मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएको कारणले मधेस प्रदेशमा धानको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको देखिएको हो ।

Advertisement