शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोड रुपियाँले बचतमा, वैदेशिक व्यापार भने  घट्यो

Advertisement

काठमाडौं । मुलुकबाट बाहिरने भन्दा भित्रने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोड रुपियाँले बचतमा छ ।अघिल्लो वर्षको सोही अवधिमा यो ४५ अर्ब ८६ करोड रुपियाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा  छ ।

समीक्षा अवधिमा चालू खाता रू एक खर्ब ४० अर्ब २३ करोडले बचतमा  छ । अघिल्लो वर्षको सोही अवधिमा यो रू ४१ अर्ब २१ करोडले घाटामा थियो । अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा छ । 

Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई रू दुई अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू तीन अर्ब ९२ करोडले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रू तीन अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू ६० करोड ४९ लाखले धनात्मक रहेको थियो । 

त्यसैगरी, वैदेशिक व्यापारतर्फ कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई रू ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाकलगायतका वस्तुको निर्यात बढेको छ । त्यस्तै, पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैँचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ । 

चालू आवको पाँच महिनामा कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई रू छ खर्ब ४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ । 

चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको राष्ट्र बैँकले जनाएको छ । त्यस्तै, सुन, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धानलगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । 

आयाततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगन्ज रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । चालू आवको पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले कमी आई रू पाँच खर्ब ७९ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.८ प्रतिशतले घटेको थियो ।
 

Advertisement

Advertisement