चारमध्ये दुई ठूला जहाज ग्राउण्डेड भएपछि निगम भन्छ– जगेडामा राख्न पर्याप्त जहाज नै भएन्

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले आफूसँग पर्याप्त जहाज नहुँदा आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडानमा निकै समस्या भएको बताएको छ । निगमका प्रवक्ता रमेश पौडेलले यति धेरै जहाज हुने दक्षिण एशियाको राष्ट्रिय ध्वजाबहाक आफूहरु मात्रै भएको बताए । 

संख्या थोरै हुँदा कुनै जहाजमा प्राविधिक समस्या आउँदा विकल्पमा प्रयोग गर्ने जगेडा राख्न नसकिएको भन्दै पौडेलले सोही कारण यात्रुहरुले समेत समस्या झेल्नुपर्ने अवस्था रहेको बताए । उनले इण्डियन एयरलाइन्सले चार वटा जहाज विकल्पको लागि जगेडामा राखेको उदाहरण दिँदै तर नेपाल वायुसेवासँग जम्मा चार वटा मात्रै जहाज रहेकाले एउटा पनि जगेडामा राख्नसक्ने अवस्था नरहेको बताए । 

Advertisement

पौडेलले भने, ‘हामीसँग १० वटा मात्र जहाज थियो भने एउटा वा दुई वटा जहाज विकल्पमा प्रयोग गर्नेगरी राख्न सकिन्थ्यो । कुनै जहाजमा प्राविधिक समस्या आउँदा अर्को जहाजमार्फत यात्रुलाई पठाउन सकिन्थ्यो । त्यो सुविधा हामीसँग छैन् । अहिले वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नुपरेको हो । ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ ।’

निगमका चार ठूला जहाजमध्ये दुई वटा ग्राउण्डेड भएपछि यात्रुहरुको विचल्ली भएको छ । अर्को न्यारोबडी जहाज यसअघि मर्मतका लागि इजरायल पठाइएको छ । उक्त जहाज एक–दुई दिनमा आइपुग्ने पौडेलले बताए । उनले थपे, ‘‘हाम्रो मुख्य समस्या पर्याप्त जहाज नहुनु हो । जहाजको संख्या थप्न सके यात्रुहरुले समस्या झेल्न कम हुन्थ्यो । अहिले भइराख्ने समस्यालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने थियो ।’

Advertisement