‘धेरै लघुवित्तलाई लाइसेन्स दिनु, बैंकलाई जसरी नियमन चाहिँ नगर्नु राष्ट्र बैंकको कमजोरी हो’

Advertisement

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले अहिलेसम्म सहकारी र लघुवित्त वित्तीय संस्थाहरुबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा नआउने अवस्था रहेको बताए । सरकारले तत्काल बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको बताए । पाठकले सरकारले एकीकृत सूचना केन्द्र बनाए अहिले सहकारी र लघुवित्तहरुले कर्जा प्रवाहमा देखिएको समस्या न्युनीकरण हुनसक्ने बताए । 

Advertisement

सहकारी र लघुवित्तबाट ऋण लिनेहरुको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था नभएको भन्दै उनले सूचना केन्द्रमा समावेश गराउने जिम्मेवारी सरकारको भएको बताए । पाठकले वि.स.२०७४ सालमा बनेको सहकारी ऐन अहिलेसम्म कार्यान्वयन नहुँदा पनि सहकारी क्षेत्रमा समस्या आइरहेका बताए । 

उनले बैंक, वित्तीय संस्था र सहकारीको समेत हेर्न मिल्नेगरी एकीकृत सूचना केन्द्र बनाउन आवश्यक रहेको बताए । पाठकले एकीकृत सूचना केन्द्र बनाए वित्तीय संस्थाहरुलाई ऋण लगानी गर्न सजिलो बनाउने दाबी गर्दै अहिले बैंक, लघुवित्त र सहकारीको ऋण लिने एकै व्यक्ति धेरै देखिएको पनि बताए । 

पाठकले बैंक, लघुवित्त र सहकारीबाट ऋण लिने तर नतिर्ने अवस्था रहेको र बैंक, लघुवित्त र सहकारीको ऋणबारे तीनवटै निकायलाई कुनै एकबाट ऋण लिएको भन्ने जानकारी नहुने अवस्था रहेको बताए । उनले तीन निकायहरुबीच सूचना लिने दिने संरचना नै नरहेको बताए । 

पाठकले सहकारी विभाग, सहकारी मन्त्रालय र स्थानीय सरकारमा विभाग बनाएर सहरकारीलाई नियमन गर्ने भनिए पनि व्यवहारमा त्यस्तो नभएको बताए । उनले लघुवित्त वित्तीय संस्थाहरुको राष्ट्र बैंकले नियमनमा सञ्चालनमा रहेका संस्थाहरु अनुशासित रहेको उल्लेख गरे । 

राष्ट्र बैंकले नियमन गर्ने भनिए पनि आवश्यक भन्दा बढी लघुवित्त संस्था खोल्न अनुमति दिएका कारण अहिले समस्या भइरहेको पाठकको भनाई छ । उनले क्षमता अनुसारको संस्थाहरु स्थापना गर्नुपर्नेबारे सरकारले सोच्न जरुरी रहेको बताए । पाठकले नियमन गर्न नसक्दा धेरै सहकारी जन्मिएको बताए । 

अध्यक्ष पाठकले ३५ हजार बढी पुगेको सहकारी संख्या अहिले केही मर्ज भएर ३० हजारमा आएको बताए । उनले ३० हजार सहकारीमा ५० प्रतिशत सहकारी मात्रै राम्रो रहेको बताए । पाठकले बाँकी १५ हजार सहकारी नाम मात्र भएको र के काम गरिरहेका छन् भन्ने बारेमा अन्योलता रहेको बताए । 

उनले सहकारी वा लघुवित्त संस्था धेरै बनाउने भन्दा पनि गुणस्तरीय र स्तरीय बनाउनु पर्ने बताए । पाठकले भने, ‘सहकारीलाई नियमन गर्ने निकाय सहकारी विभाग,सहकारी मन्त्रालय र स्थानीय सरकारमा विभाग बनाएर नियमन गरेको छ । लघुवित्त वित्तीय संस्थाहरुको राष्ट्र बैंक छ । राष्ट्र बैंक नियमन निकाय भएर निरीक्षण भएर चलेका संस्थाहरु अनुशासित छन् । बैंकहरु ट्रयाकमा भएको देखिन्छ । राष्ट्र बैंकको निर्देशन र नियमनमा चल्ने वित्तीय संस्थाहरु ठिक ठाउँमा छन् । तर राष्ट्र बैंकको निर्देशन नमान्ने संस्थाहरु धरासायी बन्दै गएका छन् । लघुवित्तमा राष्ट्र बैंकको नियमन कमजोरी देखिएको छ । धेरै लघुवित्त संस्थाहरु धेरै स्थापना गर्न अनुमति दिनु राष्ट्र बैंकको कमजोरी हो । क्षमता अनुसारको संस्थाहरु स्थापना गर्नुपर्छ भन्ने विषयमा राष्ट्र बैंकले सोच्नुपर्छ ।’ 

उनले थपे, ‘सहकारीमा दर्ता गरिदिने जिम्मा हो भन्ने हिसावले धेरै संस्थाहरु भए । एक पटक ३५ हजार बढी सहकारी संख्या पुगेको थियो । अहिले एकीकरण गरेर ३० हजारमा आएको छ । जसमध्ये ५० प्रतिशत सहकारी मात्रै गरिखाने छन् । तर बाँकी कुन सहकारीले के गरिरहेको छ भन्ने थाहा नै छैन् । सहकारी वा लघुवित्त संस्था धेरै भएर हुँदैन । गुणस्तरीय र स्तरीय संस्था हुनुपर्छ । संस्था धेरै भए तर ती संस्थाहरुको नियमन र निरीक्षण गर्ने निकाय नभएकाले अहिले सहकारीमा समस्या आएको हो । सहकारी र लघुवित्तबाट ऋण लिनेहरुको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था छैन । त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको हो । सूचना केन्द्रको माग बारम्बार हामीले गरेका थियौं ।’

अध्यक्ष पाठकले वाणिज्य बैंकहरु मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरु पनि मर्ज हुन आवश्यक रहेको बताए । उनले एउटा स्थानीय तहमा धेरै एउटै प्रकृतिका लघुवित्त र सहकारी संस्था आवश्यक नहुने बताए । पाठकले एउटा स्थानीय तहमा धेरै लघुवित्त र सहकारी संस्थाहरु हुँदा एउटै मानिस धेरै संस्थामा सदस्य लिने, सबै संस्थाको शेयर लिने, पैसा जम्मा गर्नुपर्ने र ऋण लिने कुराले लघुवित्त र सहकारीमा अस्थिरता पैदा गर्ने गरेको बताए । 

उनले लघुवित्त र सहकारीमा देखिएका पछिल्ला समस्या सही रुपमा पुँजी परिचालन गर्न नसक्दा आएको दाबी गरे । पाठकले सहकारी र लघुवित्तले कर्जा प्रवाह गर्ने काम मात्रै गर्ने तर संस्थाले गरेको लगानी कुन क्षेत्रमा लगानी भए वा नभएको अध्ययन र अनुगनम नगर्दा समस्या पैदा भएको उल्लेख गर्दै एक अर्को बीचमा ग्राहक बढाउने र धेरै कारोबार गरी धेरै नाफा कमाउन खोज्दा पनि लघुवित्तमा पछिल्लो समस्या बाहिर देखिएको बताए । 

Advertisement