एनआईसी एशियाको खुद मुनाफामा भारी गिरावट, कारण– खराब कर्जामा वृद्धि

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको खुद मुनाफा ५२.३१ प्रतिशतले घटेको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा निकै घटेको देखिएको हो । 

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले एक अर्ब ९१ करोड ४८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले चार अर्ब एक करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Advertisement

बैंकको आम्दानी घट्नुको मुख्य कारण खराब कर्जाको वृद्धि हो । यस अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतबाट ३.०८ प्रतिशत पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी ९.९५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३.५० प्रतिशत घटेको छ भने बैंकको कुल सञ्चालन आम्दानी ९.१७ प्रतिशत र सञ्चालन मुनाफा ३७.३१ प्रतिशत घटेको छ । 

चैत मसान्तसम्ममा एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ७२ करोड ५६ लाख रुपियाँ ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिशेयर वितरणयोग्य मुनाफा १५ रुपियाँ ४२ पैसा ऋणात्मक रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपियाँ १८ पैसा घटेर १७ रुपियाँ १२ पैसामा झरेको छ । 

Advertisement