दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

Advertisement

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । 

विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका–६ गोचाखोला क्षेत्रमा अहिले उपकरण मात्रै छन् । डोजर, सुरुङ खन्न प्रयोग गरिने मेसिन उपकरण र रडलगायत निर्माण सामग्री सुरुङ अगाडि अलपत्र अवस्थामा छन् । 

Advertisement

आयोजनाको पूरा क्षमतामा निर्माणलाई पुनः अघि बढाउने गरी तयारी भइरहेको आयोजना प्रमुख गोपाल रेग्मीले जानकारी  दिए । उनले यसअघि एउटा मात्रै अडिटबाट सुरुङ खन्न सुरु गरिएकोमा थप मेसिन उपकरण र जनशक्ति व्यवस्थापन गरेर दुई ठाउँबाट सुरुङमार्ग बनाउने तयारी भइरहेको जानकारी दिए । 

'अब फेरि सुरुङको काम सुरु हुन्छ, अहिले एउटा अडिटबाट सुरुङ खन्दै आएका थियौँ, यसै माघ २० गतेबाट हामीले दुई ठाउँबाट सुरुङमार्ग खन्ने गरी प्रबन्ध मिलाउँदै छौँ । अहिले पनि कर्मचारी आवासगृहतर्फको काम भइरहेको छ,' आयोजना प्रमुख रेग्मीले भने । उनका अनुसार, यस आयोजनाको सुरुङमार्गतर्फ अहिलेसम्म करिब ३५ प्रतिशत काम सकिएको छ । 

कूल दुई हजार ८५० मिटर लामो सुरुङमार्ग बनाउनुपर्नेमा अहिलेसम्म ९९५ मिटर सुरुङ निर्माण सकिएको आयोजनाले जनाएको छ । पाँच वर्ष अगाडि तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाद्वारा आयोजनाको दुखुबेँसीको बालौटेमा निर्माण हुने विद्युतगृहको शिलान्यास गरिएको थियो । तर यस आयोजनाको सुरुङबाहेक विद्युतगृह र ड्यामसाइटतर्फ कुनै काम सुरु भएको छैन । 

आयोजनाको सुरुङ निर्माणमा विष्फोटक पदार्थको अभावले काम रोकिएको बुझिन आएको र पालिकाले आयोजनालाई सफल बनाउन प्रवर्द्धकसँग समन्वय गरिरहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए । 'स्थानीयस्तरमा केही समस्या छैन, हामीले सहजीकरण गर्ने काममा सहयोग गरिरहेका नै छौँ,' उनले भने ।  

आयोजनाको निर्माण सुस्त भएपछि लगानीकर्तासमेत चिन्तित बनेका छन् । मालिका–५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ । 

पाँच अर्ब १५ करोड कुल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवर्द्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ । अन्य लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ ।

Advertisement