जनतालाई वडाध्यक्षको सहयोग, व्यक्तिगत खर्चमा निःशुल्क इन्टरनेट सेवा

Advertisement

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएका छन् । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् ।

इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए । ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो,’ उनले भने, ‘साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाई सेवा उपयोगी छ ।’

Advertisement

उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाई सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताउँछन् । 

इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षाकर्मीलगायतका व्यक्ति लाभान्वित हुने उनको भनाइ छ ।

इन्टरनेट सेवा निःशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । सुरुवातमा लाग्ने इन्टरनेट जडानखर्चसहित वार्षिक तिर्नुपर्ने इन्टरनेट खर्च रु १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै व्यहोरेका हुन् । 

Advertisement