मापसे र लापसे चेकिङबाट प्रहरीले उठायो रु. चार करोड राजश्व
File Photo

Advertisement

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । नेपाल प्रहरीले गत साउनदेखि पुस महिनासम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २४२ जनालाई कारवाही गरेको जनाएको छ । 

मापसेबाट गरिएको कारवाहीबाट कुल तीन करोड ९९ लाख ६९ हजार रूपियाँ राजश्व संकलन भएको छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्याउन तथा दुर्घटना न्यूनिकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको प्रहरीको भनाई छ । 

Advertisement

लहै लहैमा लागेर घरभन्दा टाढाको दूरीमा गई मापसे गर्ने र सवारी साधन चलाएर हिँड्ने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाउँछ भन्दै प्रहरीले सिसिटिभिको पहुँच
न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको बताएको छ । 

आफूहरुले अवलम्बन गरेका नीतिबारे प्रष्ट पार्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम ढकाल भन्छन्, ‘दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनको लागि प्रत्येक चालकले सही हालतमा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ ।’ 

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार ६२७ जना, कोशीमा दुई हजार ५२४ जना, मधेशमा दुई हजार २१ जना, बागमतीमा एक हजार ९८ जना, गण्डकीमा आठ हजार ९२३ जना, लुम्बिनीमा दुई हजार ७७३ जना, कर्णालीमा एक हजार २६४ जना र सुदूरपश्चिममा दुई हजार ४२ जना कारवाहीमा परेका छन् । 

मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभावी हिँड्नेहरूको कारण पनि सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता राजेन्द्र भट्ट उपत्यकाका धैरै ठाउँमा सवारी साधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेको कारण चालकहरू सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको बताउँछन् । 

यसैगरी, समीक्षा अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१ जना, कोशीमा २८ जना, गण्डकीमा ८८ जना, लुम्बिनीमा २० जना र सुदूरपश्चिममा २५ जना कारवाहीमा परेका छन् । अन्य क्षेत्रमा भने यो संख्या न्यून छ । मापसे चेकिङका लागि सीमित जनशक्ति र सीसीटीभी क्यामराको न्यून पहुँच रहेको, ब्रेथलाइजर लगायतका साधनस्रोत पर्याप्त नरहेको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement