इच्छाराज तामाङलाई कडा सजाय, तीन बर्ष कैद, एक अर्ब ७२ करोड बिगो र त्यत्ति नै जरिवाना

Advertisement

काठमाडौं । विशेष अदालतले नेकपा एमालेका तर्फबाट सांसदसमेत भएका सिभिल सहकारीका तत्कालिन सञ्चालक इच्छाराज तामाङलाई कडा सजाय सुनाएको छ । सम्पत्ति शुद्धीकरणसम्वन्धी मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड रुपियाँ बिगो र त्यति नै रकम जरिवाना भराउने आदेश गरेको हो । 

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आज सजाय तोकेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड रुपियाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । 

Advertisement

इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ । इच्छाराजका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् । विशेष अदालतले इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश समेत दिएको छ ।

विशेष अदालतले फैसलामा भनेको छ, ‘यी प्रतिवादीहरु उपर काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भएमा पीडितको बिगो भरिभराउने गर्ने कार्यले नै प्राथमिकता पाउने ठहर्छ ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ मा तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

Advertisement

Advertisement