नारायणगढ-बुटवल सडक अलपत्र भएपछि चौधरीले बोलाए बैठक, ठेक्का तोड्ने मन्त्रीको चेतावनी

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार निर्धारित समयमा पुरा गर्न ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सीएससीइसी)लाई निर्देशन दिएका छन् । 

म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने पनि उनले चेतावनी दिएका छन् । सोमबार पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलमा मन्त्री ज्वाला, चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधि समेतको बैठकमा पूर्वाधार मन्त्री ज्वालाले उक्त निर्देशन दिएका हुन् । 

Advertisement

उनले भने, ‘अब समयमा काम सक्नैपर्छ । अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ । अब हामीले कुनै कारणले यो परियोजनामा ढिलाई भएको सहन सक्ने अवस्था छैन् ।’

सांसद चौधरीले ठेकेदारले प्रत्येक महिना लक्ष्यअनुसार काम गर्नुपर्ने र लक्ष्य पुरा नगरे उसको रकमबाट कट्टा हुने गरि अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्री ज्वालालाई आग्रह गरे । उनले ठेकेदार कम्पनीले पटक पटक प्रतिवद्धता जनाउने तर पूरा नगर्ने बिषय अब सैह्य नहुने भन्दै लक्ष्यअनुसार काम नगर्ने ठेकेदारबाट ‘डयामेज क्लेम’ गरि उसकै पैसामा अन्य ठेकेदारहरूलाई परिचालन गर्न ढिलाई गर्न नहुने बताए । 

चौधरीले भने, ‘नारायणगढ–बुटवल सडक तत्काल मर्मतसम्भार गरि सहजरुपमा गाडी आवतजावत हुने वातावरण बनाउनुपर्छ । यो काम अधिकतम् एक महिनाभित्र भईसक्नुपर्छ । सन् २०२४ को सेप्टेम्बरसम्म सम्पूर्ण काम सक्नुपर्छ । स्थानीय वासिन्दाले धेरै दुःख पाईसके अब हामीले कुनै हालतमा छुट दिन सक्दैनौँ ।’ 

मन्त्री ज्वालाले सडक निर्माण गरिरहँदा सडकको मर्मत सम्भार गर्ने र सडकमा सहज आवागमनको व्यवस्था मिलाउने शर्त ठेक्कामा रहेकाले अहिले ठेकेदारले गरिरहेको व्यवहार सम्झौता विपरित रहेको भन्दै सम्झौताका शर्त पालना गर्न निर्देशन दिए । त्यसैगरि सडक कालोपत्रे गर्दा एकापट्टीको दुई लेन सडक पहिले सम्पन्न गरि त्यसपछि बाँकी लेनमा काम गर्न पनि ठेकेदारलाई निर्देशन दिए ।

ठेकेदारलाई रकम निकासमा समस्या नरहेको, निर्माण सामग्रीको अभाव नरहेको र विद्युत् पोल र तारहरुको व्यवस्थापन भएको अवस्थामा सडक निर्माणको काममा किन प्रगति भएन् भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाई छ । 

संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिङले ठेकेदारलाई चीनमा पनि यस्तै गतिमा काम गरेको भए के हुन्थ्यो ? भन्ने प्रश्न गर्दै ठेकेदार कम्पनीले चिनियाँ कन्ट्रयाक्टरहरुको बदनाम गरेको बताए । बैठकमा सांसद, नवलपरासीका स्थानीय निकायका प्रमुखहरू र प्रोजेक्टमा संलग्न कर्मचारीहरू सहभागी थिए । 

निर्देशनअनुसार काम भए नभएको अनुगमन गर्न एक महिनामा आज बैठकमा सहभागी सबै पक्ष सडक निर्माण स्थलमा जाने सहमति पनि भएको जनाइएको छ । 

बर्दघाट–सुनवल बजारमा फागुनभित्रै कालोपत्रे गरिने 
सांसद विनोद चौधरीले ठेकेदारलाई बर्दघाट–सुनवल बजारमा कहिलेसम्म कालोपत्रे गर्ने हो ? स्पष्ट रुपमा समयसिमा चाहियो भनेर प्रश्न गरेका छन्  । उत्तरमा ठेकेदार कम्पनीका प्रतिनिधिले फागुन मसान्तभित्र बर्दघाट–सुनवल बजारमा कालोपत्रे गरिसक्ने बताएका थिए । चौधरीले यो कुरा कार्यान्वयन गर्नका लागि दुम्किबास–बुटवल सडक खण्डका प्रोजेक्ट हेड शशांक मिश्रलाई निर्देशन दिएका थिए । 

चिनियाँ ठेकेदार र सडक विभागकातर्फबाट खटिएका प्रोजेक्ट हेड दुवै जनाले फागुनभित्र काम सक्ने प्रतिवद्धता जनाएका छन् । चौधरीले भने, ‘फागुन अन्तिममा दुवै जनासँग बर्दघाटमा भेट्नेछु । काम पुरा भएन भने तपाईँहरूमाथि कार्वाही गरिनेछ । नवलपरासीका नागरिकले धेरै सास्ती भोगेका छन् । अब पनि ढाँटछल गर्ने काम भयो भने मलाई सैह्य हुनेछैन ।’ 

Advertisement

Advertisement