पुसमा मुद्रास्फीति ५.२६ मा सीमित, गत बर्षको भन्दा कम

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको
थियो । 

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको आर्थिक अवस्थाअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।

Advertisement

समीक्षा महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत क्रमशः कमी
आइरहेको अवस्था छ । वार्षिक बिन्दुगत आधारमा पुसमा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । 

त्यसको कारण पुसमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दबाब पर्न गएको राष्ट्र बैंकको विश्लेषण छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलपूmलको १०.१५ प्रतिशतले बढेको छ ।

त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिब तथा घरायसी उपकरणहरुको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।

पुस महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत, तराईको ४.७८ प्रतिशत, पहाडको५.४० प्रतिशत र हिमालको६.५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ७.४९ प्रतिशत, ७.३० प्रतिशत र ६.६९ प्रतिशत रहेको थियो ।

Advertisement

Advertisement