घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री प्रबर्दन गरिने, आवश्यक गृहकार्य गर्दै उद्योग मन्त्रालय

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रबर्दन गरिने बताएका छन् ।  

बिहिबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले यस्तो बताएका हुन् । ठूला उद्योगी हावी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्रि प्रबर्दनको व्यवस्था मिलाइने मन्त्री रिजालले स्पष्ट पारे । मन्त्री रिजालले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्रि प्रबर्दनको व्यवस्था मिलाईने बताएका हुन् ।  

Advertisement

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रबर्दनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको छ । सोही अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रबर्दन सम्बन्धि रोड म्याप समेत प्रस्तुत गरिएको थियो । 

छलफलमा अर्थमन्त्री डा. प्रकाश शरण महत र कानून मन्त्री धनराज गुरुङको समेत उपस्थिति रहेको थियो । छलफलमा बोल्दै अर्थमन्त्री महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा बिशेष ध्यान पुर्याउनु पर्ने बताए । त्यसैगरी कानुन मन्त्री गुरुङले  घरेलु मदिराको उत्पादन तथा बिक्रि प्रबर्दनका लागि स्पष्ट कानुन प्रति संबेदनशील हुनु पर्ने बताए ।     

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थिति थियो । त्यस्तै, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, वाणिज्य तथा आपूर्ती सचिव नारायणप्रसाद दुवाडी तथा प्रदेशका मूख्य सचिवहरुको उपस्थिति थियो ।

Advertisement