टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू, अब उपभोक्ताले सस्तैमा टिभी हेर्न पाउने

Advertisement

काठमाडौं । सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ । आईतवार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट यो प्रणाली लागू गरिएको बताएको हो । 

सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवा प्रदायकहरुले पूर्णरुपमा लागू नगरे कारबाही गर्ने विभागले चेतावनी दिएको छ । सरकारले इन्टरनेट तथा टेलिभिजन हेर्ने ग्राहकहरुलाई सहुलियत दिनेगरी ग्राहकले चाहेको टेलिभिजन च्यानलहरु मात्रै हेर्न पाइने सुविधा दिनेगरी यो प्रणाली लागू गरेको बताएको छ । 

Advertisement

विभागले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू हुँदा उपभोक्ताहरुले सेवा प्रदायकहरुसँग सम्पर्क गरी च्यानल छनोट र शुल्क भुक्तानी गर्न सकिने बताएको छ । उक्त प्रणाली लागू भएसँगै टेलिभिजन वितरण गर्ने सेवा प्रदायक संस्थाहरु (एमएसओ, डीटीएच, आईपीटीभी, डीटीटिबी, एलसीओ लगायत) मार्फत सेवा लिइरहेका सम्पूर्ण सेवाग्राहीहरुले उक्त सेवा प्रदायकलाई सम्पर्क गरी आफूले हेर्ने टेलिभिजन च्यानलहरुको शुल्क बुझाउँदा आलाकार्ट शुल्क प्रणालीमा आवद्ध भएर मात्रै शुल्क बुझाउन सक्नेछन् । 

विभागका महानिर्देशक शंकर नेपालले टेलिभिजन प्रशारणमा आला कार्ट मूल्य प्रणाली लागू गर्दा वा यो भन्दा पहिला आला कार्ट मूल्य प्रणाली लागू नहुँदा पनि इन्टरनेट र च्यानलको मूल्यलाई बण्डलिङ गरेर लैजान नपाइने सन्देश दिन खोजिएको बताए । उनले इन्टरनेट र प्रशारण दुईवटा अलग–अलग ऐनबाट नियमन हुने गरेको बताए । नेपालले सरकारले अहिलेसम्म टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गर्न उपभोक्ता पनि जागरुक हुन जरुरी रहेको बताए । 

महानिर्देशक नेपालले उपभोक्ताले अग्रिम रुपमा ६ महिना एक वा दुई वर्षको लागि पैसा तिरेको अवस्था रहेको भन्दै टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू भएपछि सेवा प्रदायकले उपभोक्ताबाट उठाएको पैसा समायोजन गर्नुपर्ने बताउनु भयो । उनले बेसिक प्याकेज र पे च्यानल गरेर अधिकतम ४७० रुपियाँको मूल्य सरकारले निर्धारण गरेको बताए । महानिर्देशक नेपालले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू भएसँगै अब ४७० भन्दा बढी उठाउन नपाइने बताए । 

उनले भने, ‘इन्टरनेट र प्रशारण दुईवटा अलग–अलग ऐनबाट नियमन हुन्छ । टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गर्दा वा यो भन्दा पहिला आलाकार्ट मूल्य प्रणाली लागू नहुँदा पनि इन्टरनेट र च्यानलको मूल्यलाई बण्डलिङ गरेर लैजान पाइँदैन भन्नेकुरा उपभोक्तामा सन्देश जानुपर्छ । सरकारले अहिलेसम्म टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागू गर्न उपभोक्ता पनि जागरुक हुन जरुरी छ । उपभोक्ताले अग्रीम रुपमा ६ महिना एक वा दुई वर्षको लागि पैसा तिरेको अवस्था छ । टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गर्दा उपभोक्ताबाट उठाएको पैसा समायोजन हुनुपर्छ । अहिले जम्मा ४७० रुपियाँको वेसिक प्याकेज र पे च्यानल गरेर अधिकतम् ४७० रुपियाँको मूल्य सूचि निकालेका छौं । अब ४७० भन्दा बढी टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेपछि बढी उठाउनुपर्ने हुन्छ । २५० रुपिैयाँमा दिइरहेका छौं । २२० थपिदिनुपर्यो भन्ने नागरिकहरुलाई सेवा प्रदायकहरुसँगबाट गयो भने उपभोक्ताले के भन्न सक्नुपर्छ भन्दा ४७० हामीले इन्टरनेटको पैसा तिरिसकेका छौं । दुवै गरेर ४७० भन्दा बढी बढाउन पाइँदैन ।’

विभागले नयाँ ग्राहक बनाउँदा समेत सेवा प्रदायकले उपलब्ध गराएको आलाकार्ट मूल्य प्रणालीभित्र रही टेलिभिजन च्यानलहरु÷बुकेहरु लिई सोही बमोजिम शुल्क बुझाउनुपर्ने बताएको छ । यसअघि नै सरकारले आलाकार्ट प्रणाली अन्तर्गत नेपालमा प्रसारण हुने टेलिभिजनको न्युनतम मासिक शुल्क २५० रुपियाँ कायम गरिनुका साथै केही सःशुल्क च्यानलहरुको पनि बुके शुल्क निर्धारण गरेको थियो । 

मन्त्रालयले २०७९ चैत १५ गतेदेखि नै टेलिभिजन कार्यक्रमका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भार न्यायोचित बनाउन हालको शुल्क प्रणालीमा सुधार गरी आलाकार्ट शुल्क प्रणाली लागू गर्ने निर्णय गरेको थियो। विभागले अहिलेका लागि ८ ओटा सःशुल्क प्रशारक संस्थाहरुको बुके मूल्य निर्धारण गरेर आलाकार्ट प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । जसअनुसार स्टारको ३२ च्यानलको ६५ रुपैयाँ, सोनीको १८ च्यानलको ६५ रुपियाँ, जी इन्टरटेन्मेन्टको १३ च्यानलको २५ रुपियाँ, बनेट एण्ड कोलम्यानको ३ रुपियाँ, डिस्कभरीको ४ च्यानलको २० रुपैयाँ, बीबीसीको प्रतिच्यानल एक रुपियाँ, होम बक्स अफिसको १५ रुपियाँ प्रतिउपभोक्ताले प्रतिमहिना भुक्तानी गर्नुपर्ने हुन्छ । 

बुकेमा सूचीकृत सबै च्यानल हेर्न चाहेको खण्डमा उपभोक्ताले प्रतिमहिना ४५० देखि ४७० रुपियाँसम्म भुक्तानी गर्नुपर्नेछ । 

Advertisement

Advertisement