अतिक्रमणको चपेटामा चितवनकाे पुङ्गीखोला

Advertisement

चितवन। भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पुंगीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो ।

महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा बढी नापजाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापी अधिकृत विकास देवकोटाले बताए । उनका अनुसार पुङ्गीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब रहेका छन् ।

Advertisement

दियालो फुडल्यान्डले पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको उनको भनाइ छ । ‘हामीले अहिले नै यति भन्न सक्ने अवस्था छैन । प्रारम्भिक अनुमान गर्दा दुई कठ्ठा हाराहारीमा अतिक्रमण भएको छ,’ उनले भने ।

पर्खाल र टपमात्र पर्ने घरहरूको सङ्ख्या धेरै रहेको तथा खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्नेमा कतिपयले खोलाको सिमानाबाटै घर उठाएको उनले जानकारी गराए । सीमाङ्कनको काम एक महिनाभित्र सकिने उनको भनाइ छ । 

भरतपुर महानगरपालिका–२ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ २०२५ सालमा लमजुङबाट चितवन झर्दा नारायणगढ क्षेत्रमा फाट्टफुट घर थिए । उनी हाल बस्दै आएको रामकृष्ण टोल छेउबाट पुङ्गीखोला फराकिलो हुँदै बग्दथ्यो । आजभोलि त्यो फराकिलो खोला देख्न नपाएको उनको गुनासो छ । ‘खोला साँघुरिँदै गएको छ । अहिले मानिसले खोला मिच्दै गएका छन् । यहाँ यो खोला कहीँ साँघुरो र कहीँ फराकिलो हुँदै बग्थ्यो,’ पूर्वशिक्षकसमेत रहनुभएका गुरुङले भने, ‘अहिले ठुल्ठूला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन् ।’ 

स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । 
 
भरतपुर महानगरपालिका–११ गणेशधामबाट सुरु हुने यो खोला वडा नं २, ३ र वडा नं ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे छ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं २ मा मिचिएको छ । रामकृष्ण टोल, जलदेवी टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नं ३ को आनन्दमार्गमा खोला बढी मिचिएको छ । 

भरतपुर महानगरपालिका वडा नं २ को वडा कार्यालय पूरै खोलाको जमिनमा पर्दछ । भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यापालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताए । उनका अनुसार खोला र ऐलानी जग्गा गरेर पाँच कठ्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ । यो खोलाको चौडाइ एकनासको छैन ।

सब्जीमण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपीआई कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन । यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत सङ्कलन गर्ने एकखालको मौखिक सहमति भएको छ । अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको नापी अधिकृत देवकोटाले बताए ।

महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दायाँबायाँ हरियाली उद्यानसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ । अहिले गणेशस्थानबाट कामसमेत सुरु भएको छ । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा रु एक करोडको लागतमा तलाउ निर्माण र हरियाली उद्यानसहित सौन्दर्यीकरणका काम गरिएको छ ।

गुरुयोजनामा उद्यान, फुटपाथ, साइकल ल्याण्डलगायतका संरचना बन्नेछन् । खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचाना हटाइने भरतपुर महानगरपालिका प्रमुख नरेन्द्रकुमार राना बताउँछन् । ‘खोला अतिक्रमण कसैले गर्न पाउँदैन । बनेका संरचना छन् भने सबै हटाइन्छ,’ उनले भने, ‘वडाको भवन बनेको भए पनि भत्किन्छ ।’ 

तलाउ निर्माण रु ६६ लाखमा सक्ने गरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । तलाउ निर्माणपश्चात खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ । 
 

Advertisement

Advertisement