मूल्य वृद्धिसँगै भुक्तानी चाँडै हुन थालेपछि किसानहरु उखु खेतीतर्फ पुनः आकर्षित
File Photo

Advertisement

काठमाडौं । समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान पुनः आकर्षित बन्न थालेका छन् ।

अरू बालीजस्तो स्याहारको आवश्यकता नपर्ने र एकमुष्ट रूपमा उपजको रकम हात पर्ने भएपछि उखु खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको हो । सुनसरीको बर्जु गाउँपालिकामा रहेको इस्टर्न सुगर मिलले केही वर्ष अघिसम्म बेलैमा उखु किसानलाई भुक्तानी दिँदैन थियो । 

Advertisement

मिलबाट समयमै भुक्तानी नपाएपछि किसानहरू संघर्ष समिति बनाएर आन्दोलन गर्दथे । बेलामा भुक्तानी नपाउँदा उखु किसान पलायन हुन बाध्यसमेत थिए र सिमित किसानले मात्र उखु लगाउने गर्दथे । तर पछिल्लो केही वर्ष यता उखुको भुक्तानीमा समस्या नभएको र मूल्य पनि बढेकाले उखु खेतीतर्फ किसानहरू पुनः लोभिएका हुन् । 

त्यसबाहेक सरकारले ढिलै भए पनि अनुदान रकम थप्ने आश्वासन दिएको छ । एकपल्ट उखु लगाएपछि तीन वर्षसम्म त्यसैबाट आम्दानी गर्न सकिने र गोडमेल गर्नुपर्ने समस्या खासै नरहने भएकाले पनि किसान यसतर्फ आकर्षित बनेका हुन् । 

किसानले उखुको भुक्तानी समयमा नपाएका कारण विगतमा संघर्ष गर्नुपरेको तर अहिले सयमा नै किसानहरुले उखुको भुक्तानी पाउने गरेकाले पुनः उखु खेतीतर्फ लागेको बताए । उनीहरुले अहिले मिलले इन्स्योरेन्स गराएको भएपनि क्षतिपूर्ति नदिएको बताए । उनीहरुले उखुको क्षति इन्स्योरेन्स गराउँदासमेत नपाएको उखु किसान कमलप्रसाद कामत, शितल साहको भनाई छ । 

पाँच वर्षअघि २५ लाख क्विन्टल उखु पेल्ने क्षमता रहेको इस्टर्न सुगर मिलले आठ लाख क्विन्टलमात्र ‘क्रसिङ’ गर्दथ्यो । तर उखु खेती बिस्तार भएसँगै कोशी प्रदेशको एकमात्र चिनी मिललाई भ्याइ नभ्याइ छ । अघिल्लो वर्षमात्र १३ क्विन्टल उखु पेलेको मिलले यस पटक १९ क्विन्टल उखु क्रसिङ गर्ने र आगामी वर्ष त्यसलाई बढाएर २५ लाख क्विन्टलमा पु¥याउने विश्वास लिएको छ । 

विगतमा ३५ करोडको उखु खरिद गरेको मिलले यस पटक एक अर्ब २५ करोडको उखु खरिद गर्ने लक्ष्य राखेको छ । मूल्यको ‘ग्राफ’ पनि निरन्तर बढ्नु र मिलले पनि विविध कुरामा सहुलियत दिने गरेकाले कोशी प्रदेशमा उखुतिर आकर्षण बढेको मिलका कर्मचारी बताउँछन् । किसानहरुलाई १५ दिनेदेखि डेढ महिना भित्रमा भुक्तानी गरिरहेको दाबी गर्नुभयो । 

विशेषगरी सुनसरी, मोरङ र झापाका किसानले उखु खेती बिस्तार गर्न थालेका छन् । मोरङमा दुई हजार सात बिगाह क्षेत्रफलमा ३७ हजार पाँच सय क्विन्टलसम्म उखु उत्पादन हुने गरेको छ । विगत वर्षहरूका तुलनामा यस वर्ष उखु उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मोरङका निमित्त प्रमुख रामदेव सिंह बताउँछन् । 

किसानले मिलबाट प्रतिक्विन्टल उखुको दाम ५६५ रुपियाँ पाउँछन् । त्यसमा सरकारले ७० रुपियाँ अनुदान रकम थप्ने गरेको छ ।

Advertisement

Advertisement