गुन्द्रुक र सिस्नोपछि बेसार ब्रान्डिङ गर्दै रोङ गाउँपालिका

Advertisement

मङ्गलबारे । गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवर्द्धनमा लागेको हो । 

पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ । स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको छ । 

Advertisement

उत्पादन भएको काँचो बेसार सहकारीले प्रतिकिलो रु ४० का दरले किसानबाट बेसार खरिद गर्ने बताइएको छ । सुरुमा ४५ जना किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइने छ र पर्याप्त उत्पादनपछि बाहिर निकास गर्न थालिने बताइएको छ । 

गाउँपालिकामा बेसारको राम्रो उत्पादन हुँदै आएको छ । बेसार १० गुना बढी फल्ने गरेको किसान बताउँछन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने गरेको किसानको भनाइ छ । गाउँपालिकाकै किसान शान्तकुमारी लाप्चाले एक किलोग्राम बेसारको बीउबाट १६ किलो बेसार उत्पादन गरेकी अध्यक्ष स्याङ्बोले बताए । किसान लाप्चाले यसअघि पनि बेसार रोपेको र राम्रो उत्पादन लिएको बताइएको छ । 

गाउँपालिकाले सबै छवटै वडामा बेसार खेती विस्तार गर्ने लक्ष्य लिएको छ । गाउँपालिका र जिल्लाबाहिर बेसार निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराउन यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष स्याङ्बोले बताए । 

बेसार पनि विभिन्न जातमा हुन्छन् । गाउँपालिकाले भने कपुरबोट एक जातको बेसार किसानलाई वितरण गरेको छ । गाउँपालिकाले यसअघि ‘रोङ मह’ र गुन्द्रुक ब्रान्डिङ भइसकेको छ । ब्रान्डिङ गरिएको सिस्नो बजार पुर्याउन थालिएको छ । उत्पादन सुरु भएपछि ‘रोङ बेसार’लाई पनि ब्रान्डिङ गरिनेछ । 

 

Advertisement

Advertisement