ई-कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा, के छन् विशेषता ?

Advertisement

काठमाडौं । ई–कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । ‘मेक इन नेपाल’ इनीसीएटीभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो ।
यसको उद्देश्य व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने रहेको कम्पनीले जनाएको छ । 

डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आईटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रुपमा रहेको छ । डिजिटल साहुजीले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफैं व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ । 

Advertisement

व्यवसाय गरिरहेकालाई उनीहरुको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न सहयोग मिल्ने विश्वास कम्पनीले लिएको छ । साथै, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन पनि हुने कम्पनीले जनाएको छ । 

‘डिजिटल साहुजी’ ले व्यसायीको व्यवसायलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने र कम्पनीको समर्पित टिमबाट आवश्यक पर्दा तत्काल सहयोग गर्नेछ । त्यस्तै, विद्यार्थीहरुलाई सँगसँगै सिक्ने र कमाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यसअनुसार कम्पनीले विद्यार्थी योजना ल्याएको छ । त्यसमा उनीहरुलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरिने कम्पनीको भनाइ छ । 

कम्पनीले यस योजनामार्फत व्यावसायिक रुचि र सोच भएका विद्यार्थीलाई आफ्नो आधारभूत प्राविधिक र व्यावसायिक दक्षतायुक्त ज्ञान, सीप र तालिम प्रदान जनाएको छ । यसले उनीहरुलाई एकैसाथ सिक्ने र कमाउने बनाउनेछ । यस योजनाले आफ्नै व्यवसाय सुरु गर्ने सपना बुनेका विद्यार्थीलाई मार्गदर्शन र सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

ग्राहकले पनि कम्पनीमार्फत सही र आधिकारिक आईटी प्रडक्ट्समा आफ्नो घरको ढोकामै डेलिभरीको सुविधा पाउनेछन् । कम्पनीले व्यापक ग्राहकमाझ पुग्ने प्रतिबद्धतासहित अनलाइन सपिङ गर्ने र पसलमै गएर किन्न चाहने दुवैखाले ग्राहकलाई सेवा दिने जनाएको छ । त्यसका अतिरिक्त कम्पनीले ग्राहक सपोर्ट टिम खडा गरेको छ । यसले ग्राहकलाई आवश्यक कुनै पनि सहयोग उपलब्ध गराउनेछ । यसले नामअनुसारको काम अर्थात् विभिन्न व्यवसायलाई प्रविधिसँग जोडेर तिनीहरुलाई डिजिटलाइजेसन गर्ने कम्पनीका  संस्थापक तथा सीर्इओ राजन न्यौपानेले बताए । ‘हामी तपाईंको सपना पूरा गर्न आएका छौं,’ उनले भने,  ‘आईटी प्रडक्ट्सका लागि एउटा विश्वासिलो र सुरक्षित ई–कमर्स प्लेटफर्म बन्ने हाम्रो लक्ष्य हो ।’ 

उनले हामी पसल सञ्चालक, विद्यार्थी र सूचना प्रविधिबारे उत्सुकहरुमाझ ढोकामै हामी आधिकारिक प्रडक्टहरु डेलिभरी सेवा उपलब्ध गराउने बताए ।

डिजिटल साहुजीबाट सामान खरिद गर्दा ग्राहकहरुले कस्टमर सपोर्टका लागि सहज पहुँच, छिटो र सुरक्षित डेलिभरी हुने कम्पनीको भनाइ छ । साथै नेपालभर जुनसुकै डिजिटल साहुजीका डिलरहरुबाट एक्सचेन्ज र वारेन्टी लिन सक्ने सुविधा पाउनेछन् । खुद्रा व्यापारीहरुले डिजिटल साहुजीसँग जोडिएर सानो लगानीबाट नै आफ्नो काम सुरु गर्न सक्नेछन् । डिजिटल साहुजीसँगको सहकार्यमा व्यवसायीहरुले व्यवसाय सुरु गर्दा आवश्यक पर्ने तालिम, मार्गदर्शनका साथै स्वच्छ प्रतिस्पर्धाको अवसरसमेत पाउने कम्पनीले जनाएको छ । 

Advertisement