राष्ट्र बैंककी पहिलो महिला डेपुटी गभर्नर घेराबन्दीमा, दुर्व्यवहारपछि जिम्मेवारी पनि खोसियो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंककी पहिलो महिला डेपुटी गभर्नर डा. नीलम ढुंगाना घेराबन्दीमा परेकी छन् । गत महिना मात्रै नगरकोटमा आयोजित राष्ट्र बैंकको एक कार्यक्रममा दुर्व्यवहारको शिकार भएकी उनको जिम्मेवारी समेत खोसिएको छ । 

दुई महिनाअघि मात्रै ढुंगानाले राष्ट्रं बैंकको बैंक सुपरिवेक्षण विभाग हेर्ने जिम्मेवारी दिइएको थियो । त्यसअघि यो जिम्मेवारी अर्का डेपुटी गभर्नर वमबहादुर मिश्रले हेर्दै आएका थिए । यो विभाग राष्ट्र बैंकको सबैभन्दा ‘पावरफुल’ विभागमा पर्दछ । सोही जिम्मेवारी आफूबाट खोसेर ढुंगानालाई दिएपछि मिश्र र उनको समूह गभर्नर अधिकारी र ढुंगानासँग रुष्ट रहँदै आएका थिए । 

Advertisement

नगरकोट प्रकरण पनि सोही जिम्मेवारी हेरफेरको प्रतिक्रियाको रुपमा हेरिँदै आएको छ । सुपरिवेक्षण विभागलाई लिएर मिश्र समूहले धेरै चलखेल गर्न थालेको र राष्ट्र बैंक नै बदनाम भएको भन्दै गभर्नर अधिकारीले सो विभागको जिम्मेवारी अहिले आफै लिएका छन् । तर राष्ट्र बैंकभित्र सल्किएको भुसको आगो भने बढ्दै गएको छ । राजनीतिकसँगै गुटगत ध्रुविकरण बढ्दै गएको छ । सुपरिवेक्षण विभागको जिम्मेवारी ढुंगाना वा मिश्र कुनै एकलाई दिँदा राष्ट्र बैंकको सम्पूर्ण कामकारवाही नै प्रभावित हुनुपर्ने, धेरै उच्च कर्मचारीहरुलाई सरुवा गर्नुपर्ने परिस्थितिपछि गभर्नर अधिकारी आफैले सो विभाग हेर्न थालेका हुन् । 

एकले अर्कोलाई सिध्याउने गरी ‘फाइट टू फिनिस’को अवस्था आउन नदिन गभर्नर अधिकारीले सुपरिवेक्षण विभाग आफैले हेर्न थालेको राष्ट्र बैंक स्रोतको भनाई छ । तर दुई पक्षबीचको द्धन्द्धमा डेपुटी गभर्नर ढुंगाना भने दोहोरो पीडित भएकी छन् । आफूभन्दा कनिष्ठ कर्मचारीबाट दुर्व्यवहारको चोट सहन गर्न बाध्य भएकी उनले आफूले जिम्मेवारी लिएको विभागमा कार्यकारी भूमिका लामो समय निर्वाह गर्न पाइनन् । 

वरिष्ठ डेपुटी सीईओ भएको नाताले ढुंगानाले सुपरिवेक्षण विभाग हेर्ने जिम्मेवारी पाउनु स्वाभाविक भए पनि मिश्र समूहले सो विभाग हेर्ने जिम्मेवारी खोसिने कुरालाई आफूहरुको प्रतिष्ठाको विषय बनाउँदै आएको थियो । मिश्रलाई साथ दिने काम कार्यकारी निर्देशक देवकुमार ढकाललगायतले गरेका छन् । उनीहरुबीचको तिक्तता नगरकोट प्रकरणपछि बाहिर छताछुल्ल भएको हो । उक्त घटनामा डा. ढुंगानालाई दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई विभागीय कारवाही गरी थप अनुसन्धान भइरहेको छ । ढुंगानाले सो घटनालाई सामान्यरुपमा नलिएपछि गभर्नरसहित राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई नैतिक संकट सिर्जना भएको छ ।

डा. ढुंगानाले आफूमाथि भएको दुर्व्यवहारको विरुद्ध राष्ट्र बैंक सञ्चालक समितिमै उजुरी दिएपछि सो घटनासम्वन्धमा छानविन गर्न समिति नै बनेको छ । सो समितिले प्रतिवेदन बुझाइसकेको छ । सोही प्रतिवेदनका आधारमा गभर्नर अधिकारीले १५ दिनको समय दिएर जागिरबाट किन बर्खास्त नगर्ने ? भनी आचार्यलाई स्पष्टीकरण सोधेका छन् । आउँदा फागुन २० गतेभित्र आचार्यले स्पष्टीकरण दिइसक्नुपर्छ । यद्यपि आचार्यमाथिको कारवाही रोक्न मिश्र र ढकालले सक्दो प्रयास गरेका थिए । विषय संवेदनशील भएकाले उनीहरुको प्रयास सफल हुन सकेन् । तर समस्या जटिल बन्दै जाँदा नजिता के हुने हो ? भन्ने कुराले राष्ट्र बैंकका कर्मचारीमा अन्योलता बढ्दै गएको देखिएको छ । 

Advertisement

Advertisement