‘बैंकहरु डुब्दैनन्, डुब्न दिइन्न’

अहिले कुनै एक बैंक डुब्न लाग्यो भनेर अर्को बैंक खुशी नहुनुः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दाबी गरेका छन् । सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने बताए । 

राष्ट्र बैंकको नियमनमा चल्ने बैंक तथा वित्तीय संस्थाको वचत सुरक्षित गर्ने मेकानिजम राष्ट्र बैंकसँग भएकाले नेपाली बैंक डुब्ने अवस्था नभएको अधिकारीको भनाई छ । उनले नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो रहेको उल्लेख गर्दै राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको बताए । 

Advertisement

पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यत्तिकै डुब्न नदिने गभर्नर अधिकारीले बताए । उनले अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु डुब्ने अवस्थामा नभएको भन्दै साना–साना संस्था सो अवस्थामा आए पनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम रहेको बताए । 

अधिकारीले भने, ‘नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो छ । बैंकिङ अभ्यास पारदर्शी छ । राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलिया बनाउने किसिमका छन् । पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यतिकै ढल्न दिँदैनौं । यो कुरामा राष्ट्र बैंक प्रतिवद्ध छ । अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार बैंकको पुँजी तल गयो भने फेल हुनसक्छ । नहुने भन्ने होइन । तर त्यसको असर बजारमा कस्तो पर्छ ? भन्ने सबै कुरा हेरेर मात्रै अमेरिकाको २००७–८ को घटनालाई सम्झनु भयो भने एउटा घटना क्रम अनुसार अन्य सारा घटनाक्रम घट्दै गए । ती हाम्रो लागि महत्वपूर्ण लेसन हुन ।’  

उनले थपे, ‘अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु फेल हुने अवस्थामा छैनन् । साना–साना संस्था त्यो अवस्थामा आए भने पनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम छ । बैंक डुब्ने अवस्थामा पुगे पनि वचतकर्तालाई सुरक्षित गर्ने मेकानिजम पनि छ । राष्ट्र बैंकले नियमन र अनुगमन गरेका बैंक वित्तीय संस्थाको वचत कुनैपनि हालतमा डुब्ने अवस्था आउने दिने छैनौं । बैंक तथा वित्तीय संस्थाहरुले पनि त्यहीअनुसार काम गर्दै आएका छन् ।’

गभर्नर अधिकारीले अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको बताए । ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको भन्दै मुलुकको निर्माण क्षेत्र समेत सुस्तता रहेको उनले बताए । अधिकारीले निर्माण क्षेत्रलाई चलायमान बनाउनसके आर्थिक गतिविधि समेत वृद्धि हुने बताए । 

उनले १४ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको बताए । उनले विदेशी मुद्रा सञ्चितिले बैंकको तरलतामा सहजता ल्याएको र राज्यले चाहेको कुरा आयात गर्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे । अधिकारीले विगतमा बैंकहरुबाट ग्राहकहरुले ऋण लिनेले क्षमताभन्दा बढी ऋण  लिएका कारण हालको समस्या निम्तिएको बताए । 

अधिकारीले ऋणहरुले आफ्नो क्षमताभन्दा बढी ऋण लिँदा समयमा तिर्न नसकेको र बैंकले पनि क्षमता हेरेर ऋण नदिँदा वर्तमान समस्या उत्पन्न भएको बताए । अधिकारीले यस वर्ष खराब कर्जा बढेको भन्दा पनि बैंकिङ क्षेत्रको वास्तविकता बाहिर आएको वर्ष भएको बताए । गभर्नर अधिकारीले यसलाई अन्यथा लिन नहुने भन्दै नेट एनपीए १.४० प्रतिशत हाराहारी रहेको बताए । 

तत्काल आत्तिनुपर्ने अवस्था नभएको भन्दै उनले शेयरधनीलाई लाभांश नदिएर भएपनि प्रणाली सुधारमा लाग्नुपर्ने आवश्यकता आंैल्याए । अधिकारीले अहिले कुनै एक बैंक डुब्न लाग्यो भनेर अर्को बैंक खुशी हुँदा त्यसले अरुलाई पनि असर गर्ने अवस्था रहेको बताए । 

उनले भने, ‘बैंकका ग्राहकहरु पनि आफ्नो घाँटी अनुसारको काम गरिदिएको भए । बैंकहरुले पनि कर्जा लिने क्षमता यति हो यहाँ भन्दा बढी जानुहुँदैन भनेर सोचिदिएको भए । अहिले बैंकहरुलाई समस्या पर्ने थिएन । ग्राहकहरुलाई समस्यामा पर्नुमा राष्ट्र बैंक पनि दोषी छ । यो वर्ष बैंकहरुको खराब कर्जा बढेको वर्ष हो । बढेको भन्दा पनि बैंकहरुको वास्तविकता बाहिर आएको वर्ष हो । बैंकिङ प्रणाली एकदमै पारदर्शी छ । कयौं वर्षसम्म चालुपुँजी कर्जा मार्ग निर्देशन लागू नभएसम्म केही समय पाउनुभयो । पुरानो कर्जा तिर्ने प्रयोजनको लागि थाहा नपाइ लिमिटहरु राखेर पनि थप कर्जा लिएर ऋणहरुले कर्जा तिर्ने अवसर पाए । चालुपुँजी कर्जा मार्ग निर्देशन आएपछि त्यो अवसर रहेन । आर्थिक गतिविधि कमजोर भएको कारण कर्जा असुलि कमजोर भएको अवस्थामा चालुपुँजी कर्जा मार्ग निर्देशन लागू हुदाँ थप बल पु¥यो । ३.४० प्रतिशत खराब कर्जा पुग्दा नेट खराब कर्जा १.४० प्रतिशत रहेको छ । राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा बढेर शेयरधनीहरुले कम लाभांश पाएपनि बैंकहरु बलियो हुनुपर्छ । धेरै आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

गभर्नर अधिकारीले राजनीतिक पार्टीका नेतृत्वदेखि बैंक बुझ्ने धेरैले बैंक अराजक, सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको बताउँदै नेपालका कुनै पनि बैंकहरु अराजक, सामन्ती र मिटरब्याजी भएको नपाएको बताए । उनले अहिले बैंकको आम्दानी घटेको बताए । अधिकारीले आफू गभर्नर भएर राष्ट्र बैंक आउँदा ७० अर्ब रहेको नाफा अहिले त्या्े अवस्थामा पुुग्नसक्ने अवस्था नरहेको उल्लेख गरे । 

अधिकारीले ३२ खर्ब बैंकको पुँजी बढेर ५० खर्ब पुग्दा पनि ७० अर्ब नाफा पुग्न नसक्ने अवस्थामा ‘कसरी बैंक साहु महाजन भए ? भन्दै प्रश्न गरे । उनले बैंकहरुलाई गाली गर्नेहरुले बैंकहरुको तथ्याङ्क नहेरेको बताए । 

अधिकारीले बैंक तथा वित्तीय संस्था डुब्दा मुलुकमा कस्तो असर पर्छ भन्ने विषयमा सबैले ध्यान दिन आवश्यक रहेको बताए । उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था फेल नहुन् भनेर मर्जरको लहर चलाएको दाबी गरे । राष्ट्र बैंकले लिने नीतिहरु तत्काल भन्दा पनि भविष्यमा आउने समस्या समाधानको लागि सहयोगी बन्ने गरेको धारणा व्यक्त गरे । 

Advertisement

Advertisement