भरतपुरमा एकैदिन तीन आयोजना उद्घाटन

Advertisement

चितवन । भौतिक पूर्वाधारमा द्रुत विकास गर्दै आइरहेको भरतपुर महानगरपालिकाले एकैदिन तीन आयोजनाको उद्घाटन गरेको छ । संघीय र प्रदेशसँग समन्वय गर्दै ठूलो मात्रामा विकास बजेट भित्र्याएको भरतपुरले तीनवटा सरकारको समन्वयमा निर्माण भएका आयोजना उद्घाटन गरेको हो ।

वडा कार्यालय भवन, १६ शय्याको अस्पताल र घरेलु प्रदर्शनी केन्द्रको महानगर प्रमुख रेनु दाहालले आज उद्घाटन गरिन् । उद्घाटन समारोहमा प्रमुख दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशीलताको विकास रहेको बताइन् । भरतपुरमा पूर्वाधार विकासको क्षेत्रमा धेरै काम भएको भन्दै उनले अबको योजना महानगरबासीलाई उद्यमी बनाउने रहेको बताइन् । उनले भनिन्, ‘स्वदेशमा नै रोजगारी सृजना गर्न महानगरले घरेलु उद्योगको प्रवर्द्धन गर्दै आएको छ । अबका दिनमा उद्यमशीलतालाई थप प्रोत्साहन गर्दै जानेछौँ ।’

Advertisement

समय–समयमा विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताउँदै उनले समग्र महानगरवासीको आर्थिक विकासमा प्रदर्शनी केन्द्रले, स्वास्थ्य क्षेत्रमा अस्पतालले र स्थानीय जनतालाई अन्य सेवा वडा कार्यालयले दिने बताइन् ।

कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले जनताको अधिकारलाई थप बलियो बनाउन तीनवटा योजनाको एकैपटक उद्घाटन गरिएको बताए । महानगरपालिकाले स्थानीय सरकारका रुपमा आम जनताको भावना र मर्मअनुसार काम गर्दै आएको उनको भनाइ थियो । दुईतले वडा कार्यालय भवन निर्माणका लागि एक करोड ३२ लाख रुपैयाँ खर्च भएको वडाअध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।

यसैगरी, बागमती प्रदेश सरकारको एक करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । एसियाली विकास बैंक÷जेएएफपीआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत एक करोड ६६ लाख रुपैयाँको लागतमा १६ शय्याको अस्पताल निर्माण भएको हो । यसको स्वामित्व आजै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललगायतले धारणा राखेका थिए । 

Advertisement

Advertisement