सेबोनको अध्यक्ष नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि जारी, के-के चाहिन्छ योग्यता ?

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । 

तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्था बमोजिम कार्यविधि निर्धारण गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

Advertisement

बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी आवेदन माग गरिने कार्यविधिमा उल्लेख छ । 

के कति चाहिन्छ योग्यता ? 
मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनेपर्ने योग्यता तोकिएको छ । साथै, आवेदक नेपालको नागरिक र उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ । 

यसरी अंक भार विभाजन
उम्मेदवारको मूल्यांकनका लागि १०० पूर्णङ्कलाई विभिन्न अंक भारमा विभाजन गरिएको छ । व्यावसायिक कार्ययोजनाको अंक भार ४०, शैक्षिक योग्यताको १२, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको १८ र अन्तर्वार्ताको ३० गरी १०० पूर्णङ्कमा मूल्यांकन हुने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा के के छ ? तलको लिंकमा क्लिक गर्नुहोस्:

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधी-२०८०

 

Advertisement