बैंकहरुले लिए १२ खर्ब ३६ अर्ब बराबरको स्थायी निक्षेप सुविधा

Advertisement

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा स्थायी निक्षेप सुविधा अन्तरगत १२ खर्ब ३६ अर्ब ६० करोड रुपियाँ पैसा जम्मा गरेको देखिएको छ । फागुन १ गते यता ३४९ पटक गरि बैंक तथा वित्तिय संस्थाहरुले सो बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् ।

बैंकहरुले जम्मा गर्ने र झिक्ने गर्दै पछिल्लो साढे दुई महिनामा सो बराबरको निक्षेप राष्ट्र बैंकमा जम्मा गरेका हुन् । अहिले राष्ट्र बैंकमा यस अन्तरगतको खुद निक्षेप (बक्यौता) भने ८३ अर्ब ४० करोड रुपियाँ मात्रै छ । यो निक्षेप आउँदो बुधबार परिपक्क हुन्छ, त्यसपछि बैंकहरुले व्याज सहित रकम फिर्ता  पाउनेछन् । त्यसपछि उनीहरुले बुधबारनै पुनः यस्तो निक्षेप राष्ट्र बैंकमा जम्मा गर्न सक्नेछन् । 

Advertisement

राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८०÷८१ मौद्रिक नीतिबाटै बैंकहरुलाई  स्थायी निक्षेप सुविधा दिने घोषणा गरेको थियो । त्यसपछि गत फागुन १ गतेबाट यो कार्यान्वयनमा आएको थियो । यो सुविधा अन्तरगत बैंकहरुले आफ्नो इच्छाअनुसार हरेक आइतबार र बुधबार राष्ट्र बैंकमा आफ्नो लगानीयोग्य पैसा निक्षेपको रुपमा जम्मा गर्न पाउने छन् । यसको अवधी ४ दिनसम्म्को हुनेछ । त्यसमा राष्ट्र बैंकले ३ प्रतिशत व्याज (बार्षिक) बैंकहरुलाई दिनेछ ।

अहिले कर्जा माग नभएर बैंकहरुमा पैसा थुप्रीएको अवस्थामा राष्ट्र बैंकको यो सुविधाबाट बैंकहरुलाई राहत मिलेको बैंकरहरु बताउछन् । तरलता व्यवस्थापनमा यो उपयुक्त माध्यम मानिन्छ । यसमा बैंकहरुले राष्ट्र बैंकले आह्वान नगर्दापनि तोकिएको दिनमा बोलकबोल बिना नै निक्षेप राख्न सक्छन् । यसअघि राष्ट्र बैंकले आह्वान गरेको अवस्थामा मात्रै बैंकहरुले बोलकबोल गरेर निक्षेप राख्न पाउने थिए । 
यद्यपि, राष्ट्र बैंकले यो सुविधाका लागि बिभिन्न मापदण्ड भने तोकेको छ ।  बैंकहरुमा अन्तरबैंक सापटीको बक्यौता नभएको, पछिल्लो ३० दिनसम्म दैनिक कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र दैनिक खुद तरल सम्पत्ति पनि तोकिएको सिमा भित्र रहेका हुनुपर्नेछ । यस्तै बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर पनि ३ प्रतिशत भन्दा कम नभएको हुनुपर्ने शर्त तोकिएको छ । यी शर्त पुरा भएको अवस्थामा बैंकहरुले न्यूनतम २० करोड रुपियाँ र सोभन्दा बढीको हकमा पाँच करोडले भाग गर्दा निःशेष रहने अंक बराबरको रकम राष्ट्र बैंकमा जम्मा गर्न सक्नेछन् ।

Advertisement

Advertisement