सहकारीहरुमा किन आयो समस्या ?, नियामकको भूमिका पनि शंकास्पद !

Advertisement

काठमाडौं । बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा फागुन १६ र १७ गते ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने नाराका साथ ‘बागमती प्रदेश साकोस समिट’ आयोजना गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले सहकारीमा देखिएको समस्याबारे फरकफरक धारणा राखेका छन् ।

Advertisement

कस्ले के भने ? 

संख्यात्मक वृद्धिले सहकारीमा समस्या ल्यायोः गोपीनाथ मैनाली 
नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीको काम साझेदारी गर्ने भए पनि त्यो नभएको बताएका छन् । उनले ४७ वटा कानुनले सहकारीलाई नचिनेको बताए ।

‘कानन कार्यान्वयन र अभियान शुद्धिकरणका लागिः सहकारी एकीकरण र वर्गिकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सचिव मैनालीले सहकारीको संघहरु धेरै भएको र संघहरुले सदस्य संस्थाको विकास र प्रवद्र्धनका लागि काम गर्नुपर्ने बताए । सहकारीमा एकीकरण आवश्यक रहेको र यसले संस्थाहरुको संख्या घटाई दाहोरो सदस्य घटाउन सहयोग गर्ने बताए ।

एकीकरणमार्फत जोखिम व्यवस्थापनमा सघाउन भन्दै सरकारले २०६२ बाट नै एकीकरण कार्यक्रम सुरु गरको उनले बताए । सहकारीले सदस्यको विश्वास जित्न आवश्यक रहेको उनको भनाई छ  । एकीकरण गर्दा कर्मचारी र कुल खर्चको अनुपात, नाफा नोक्सान अनुपात, कर्जा निक्षेप अनुपात, पुँजी कोष अनुपात विश्लेषण गरी  औषत बार्षिक बृद्धिदर र व्यवसाय विस्तारलाई ध्यान दिनुपर्ने उनको भनाई छ । 

एकीकरणले संस्थाको छवी सुधार, व्यवसायको विस्तार र सुशासनमा कायम गर्न सहयोग पुग्ने उनको भनाई थियो । कमजोर स्वनियमन, संस्था भित्र सदस्य केन्द्रियताको अभाव र नियमाकीय अलमल सहकारीको समस्या भएको मैनालीको भनाई छ । ३१ हजार सहकारी संख्या नै सहकारीको मुख्य समस्या भएको उनले बताए । सहकारीमा वित्तीय सुंचाक, संस्थागत शुसासन  र जवाफदेहीतालाई आधार मानेर एकीकरण गर्न सकिने उनले बताए । ‘संस्थामा तरलता होइन विश्वास आवश्यक रहेको र अमेरिकामा सिडी रेसियो हुँदैन । किनभने त्यहाँका वित्तीय संस्थामा विश्वासको अभाव छैन’ उनले भने ।

सहकारी क्षेत्रको यथार्थता बाहिर आउन आवश्यक छः टोलराज उपाध्याय 

सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा समस्या आउनुका कारण र समाधानका उपायहरू पहिचान गर्न आवश्यक रहेको बताएका छन् । उनले वर्तमान सहकारीको समस्या सामाधानका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताएका हुन् । सहकारीका नीतिगत व्यवस्थाका विषयमा समेत छलफल गरी अभियान सुधारका लागि मार्ग प्रशस्त गर्नु  पर्ने धारणा उनको छ । 

सहकारी सामुहिकताको विषय भए पनि सामुहिकतामा गरिएको काम किन असफल भइरहेको छ सो विषयको समीक्षा गर्नु पर्नेम उनको जोड छ । सामुहिक व्यवसायमा व्यक्ति सफल हुने तर अभियानको विषयमा प्रश्न उठ्ने खालका टिकाटिप्पणी हुनु राम्रो विषय नभएको उनको भनाइ छ । 

‘सहकारीले के कस्तो योगदान गरेको छ, त्यसको यर्थात विवरण नहुँदा पनि सहकारीमा समस्या भएको छ,’ उनले भने, ‘यो विषयमा पनि अभियानले भूमिका खेल्नुपर्छ, वास्तविकता बाहिर ल्याउन सके अभियानको महत्व अझ बढ्ने र राज्यले समेत यसको महत्व थाहा पाउँछ ।’

हरेक पाईलामा जोखिम छ, त्यसलाई ट्रान्सफर गर्नुपर्छः पोषराज पौडेल
सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषराज पौडेलले स्वास्थ्य उपचारका कारण वर्षेनी ५ लाख मानिस गरिबीको रेखामुनी परेको बताएका छन् ।

‘सहकारीमा सदस्य सुरक्षाः जोखिम स्थानतरणको लागि बीमा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पौडेलले हरेक पाईलामा जोखिम रहेकाले त्यसलाई ट्रान्सफर गर्न आग्रह गरे । जोखिमलाई ट्रान्सफर गर्न नसके विकास खर्चलाई समेत प्रभाव पार्ने भएकाले सबैले बीमा गर्न आवश्यक रहेको उनको भनाई छ । भुकम्पको समयमा बीमा कम्पनीले १६ अर्ब रकम भुक्तानी गरेको भन्दै उनले अब सरकारले पेन्सन र सामाजिक सुरक्षा भत्ता समेत नबाँडने कुरा आएकाले बीमाको विकल्प नभएको बताए ।

नेपालमा संस्थागत रुपमा ६ प्रतिशत र अभिकर्तामार्फत ९० प्रतिशत बीमा बिक्री हुने गरेको छ । सदस्यलाई गरिबीमा जान जोगाउने र समृद्धिको आधार तयार गर्ने माध्यम बीमा भएको पौडेलले बताए । भ्रष्टाचार निवारर्णका लागि पनि बीमा आवश्यक रहेको उनले बताए । बीमाले सम्पत्तिको क्षतिको रक्षावरण, सहकारी संस्थाको असिमित दायित्वको व्यवस्थापन र संस्थागत सुशासनमा सघाउन मद्दत गर्ने उनले जानकारी दिए ।

सहकारीको समस्यामा नियामकको भूमिका पनि शंकास्पदः मिनराज कँडेल
राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कडेलले सहकारी अभियानको सुदृढिकरणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । ‘बचत तथा ऋणको कारोबार गर्ने तथा सहकारीको मूल्य मान्यता भन्दा बाहिर रहेका सहकारीहरूमा समस्या सिर्जनूा भएको छ । 

यसलाई समाधान गर्नको लागि सबैको हातेमालो आवश्यक छ’ उनले भने, ‘अहिले सहकारीमा नियामक निकायको भूमिका पनि संकास्पद छ । सहकारी क्षेत्रमा देखिएको प्रतिकुल अवस्थामा पनि एउटै संस्थाले एकैदिन २४ वटासम्म सेवा केन्द्र सञ्चालनका लागि स्वीकृति दिएको छ । यसले पनि सहकारी क्षेत्रमा समस्या ल्यायो ।’ 

उनले सहकारीले २२ प्रतिशतसम्म ब्याज दिएर सदस्यबाट ठूलो बचत लिएका संस्थाहरु नै समस्यामा परेको बताए । कसैले सहकारी जोगाईदिने भन्दा पनि सहकारी आफैले सदस्यहरुको विश्वास जित्दै समस्याको समाधान गर्न केन्द्रित हुनपर्छ उनले सुझाए । 

सबै मिलेर सहकारीको वर्तमान भ्रम चिर्नु पर्छः चन्द्रप्रसाद ढकाल
बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै मिलेर सहकारीको वर्तमान भ्रम चिर्नु पर्नेमा जोड दिए । पछिल्लो समय सहकारीमा यथार्थभन्दा पनि बढी समस्याका कुरा मात्रै बाहिर आएको उनले बताए ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने ढकालले औल्याए । अभियानलाई सुदृढ पार्नका लागि सबै पक्षले हातेमालो गरेर अगाडी बढ्नु पर्ने धारणा राखे । ‘बचत तथा ऋण सहकारी अभियानलाई साकोस समिटले एक किसिमको सन्देश दिनेछ,’ उनले भने । यस्तै, उनले सहकारी महासंंघले सहकारी क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ की छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेकोमा उनको जोड छ । 

सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्याः केशव दाहाल 
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशबप्रसाद दाहालले सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्या देखिएको बताएका छन् । दाहालले एउटा सहकारीमा समस्या उत्पन्न हुँदा छिमेकी सहकारीमा पनि समस्या देखिएको धारणा राखे । ‘सहकारीमा वर्तमान समस्याका कारणहरू’ विषयकमा कार्यपत्र प्रस्तुत गर्दै दाहालले निजी व्यवसायसरह एकाघर सदस्यहरू, व्यवस्थापक तथा पदाधिकारी बन्दा सहकारी संस्थाहरूमा समस्या देखिएको बताए । 

दाहालले पल्र्स अनुगमन प्रणालीलाई अंहगिकार गर्न, सदस्यको बचतलाई गैर सहकारी क्रियाकलापमा लगानी गर्दा, संस्थाहरू अन्धाधुन्ध दर्ता हुँदा र कमजोर नियमन प्रणाली हुँदा सहकारीमा समस्या देखिाएको स्पष्ट पारे ।

‘सहकारीमा बाह्य कारणले पनि प्रभाव पारेको छ, राज्यले कानुन कार्यान्वयनमा सुस्तता देखाउँदा पनि केही समस्या देखियो, गलत गर्नेलाई राजनीतिक संरक्षण हुँदा र  गलत गर्नेलाई समयमै कारबाही नहुँदा समस्या बल्झिएको हो’, उनले भने । 

Advertisement

Advertisement