सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको स्वार्थमा चल्छन्ः गगन थापा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चल्नेगरेको बताएका छन् । 

बिहीवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यी दुई विभाग चल्ने छुट्टै कानूनी प्रावधान भएपनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको बताएका हुन् । 

Advertisement

कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको बताउँदै थापाले राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको बताए । यो बजार हल्ला नभएर बास्तविकता रहेको थापाको दाबी छ । 

उनले राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अफ्ठ्यारो भएको विषयमा जानकारी दिन आग्रह गरे । थापाले सम्पत्ति शुद्धीकरणले बेनामी उजुरीको आधारमा कुनै एक जना व्यवसायी वा राजनीतिकज्ञलाई दुःख दिने माध्यमको रुपमा काम गरेको आरोप लगाए । 

उनले बेनामी उजुरी दर्तामा लैजाने वा नलैजाने भन्ने विषयमा पैसाको मोलमोलाई हुन्छ भन्ने सुनेको बताउँदै भने, ‘सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान कानून अनुसार चलेका छन् । अपेक्षा गर्ने कुरा त्यही हो । यी दुई निकायहरु प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने कारण कानूनी रुपमा चल्ने भन्दा पनि कार्यकारीको इच्छामा ऊ चल्ल छ कि भन्ने आंशका छ । कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउछन् भन्ने आरोप छ ।’ 

थापाले थपे, ‘राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएका उदाहरणहरु र प्रमाण छन् । बजारका हल्ला मात्रै हुन भन्ने सक्ने अवस्था छैन । राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अफ्ठ्यारो भएको छ की छैन ? कानूनमा समय अनुकल संशोधन गर्नुपर्ने भन्नुभएको छ । सम्पत्ति शुद्धीकरण बेनामी उजुरीको आधारमा कसैलाई परिसानी गर्ने माध्यमको रुपमा काम गरेको बुझिन्छ । मुद्दा हेर्ने विषयमा मोलमोलाई हुन्छ भन्ने सुनिन्छ ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले टाक्स फोर्सले दिएको सुझाव बमोजिम घर जग्गा, आयात निर्यात, सहकारीको कारोबार आदीबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको उनले बताए । 

Advertisement

Advertisement