सत्ता गठवन्धन फेरिएसँगै एमसीसी सक्रिय, विद्युत् प्रसारण लाइनको काम अघि बढाउने निर्णय

Advertisement

काठमाडौँ । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान परियोजना अघि बढाउनगठन गरिएको एमसीए–नेपालले विद्युत प्रसारणलाइनको काम अघि बढाउने निर्णय गरेको छ । 

एमसीए–नेपालको सञ्चालक समिति बैठकले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो । 

Advertisement

यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ । एमसीए–नेपालका सञ्चालक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव नवीन सिंहले सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको महत्वलाई दृष्टिगत गर्दै यो निर्णय गरेको बताए । 

यस खण्डलाई वृहद् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरीद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने बताए । यस खण्डले सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्ने जनाइएको छ । 

बाँकी २९७ किमि प्रसारण लाइनका सन्दर्भमा, निर्धारित समयावधिभित्रै उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गर्न डिजाइन–बिल्ड निर्माण कम्पनीहरूको सेवा खरीदका लागि काम अगाडि बढाइरहेको एमसीए–नेपालले भनाई छ । यी प्रसारण लाइनहरू समयमै, बजेटभित्रै र वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने एमसीए–नेपालको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

Advertisement