कांग्रेससँगको सहकार्यका क्रममा सरकारले परिणाम दिन नसकेः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको सहकार्यमा परिणाम दिन नसकेको बताएका छन् । 

बिहीबार संसदमा बोल्दै उनले आफूलाई बेइमान भनेकोमा पनि असन्तुष्टि जनाए । कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेको भन्दै दाहालले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने तर्क गरे । 

Advertisement

उनले भने, ‘आफूसँग हुँदासम्म इमान अरुसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन । राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो ।’ यद्यपि मुद्दाका आधारमा मिलेर जान दाहालले कांग्रेसलाई आग्रह पनि गरे । 

उनले आफूले सोच विचार गरेर नै कदम चालेको भन्दै थपे, ‘म संसदमा भएको कुनै पनि दलसँग अविश्वास आशंका र घृणा होइन । हामी फेरि पनि राष्ट्रिय इस्यूमा मिलेर अघि बढ्नुपर्छ ।’ यद्यपि दाहालले कांग्रेससँगको सहकार्य सौहार्दपूर्ण रहेको र कांग्रेस नेताहरुसँग व्यक्तिगत सम्बन्ध पनि राम्रो रहेको बताए । 

कांग्रेससँग काम गर्दा व्यक्तिगत सम्वन्ध राम्रो भए पनि उपलब्धीबाट आफू सन्तुष्ट थिइन् भन्दै उनले भने,  ‘औसत उपलब्धीको आत्मरितको पिँजडामा म रमाउने अवस्थामा थिइनँ, र अहिले पनि छैन । एक वर्ष कार्यकाल पूरा गर्दा साथीहरुले व्यक्तिहरुको रुपमा त मलाइ माया गर्नुभयो परिवर्तन र सुशासनको पक्षमा जति न्याय गर्नुपर्थो । त्यति गर्नुभयो ।’

साथै, दाहालले कांग्रेससँगको सरकारको गतिबाट आफू असन्तुष्ट रहेको र धेरै पहिलेदेखि कांग्रेसबाट सहयोग नपाएको भन्दै भने, ‘औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएर आफ्नो लक्ष्य अनुसार राष्ट्र निर्माणमा लाग्ने भन्नेमा मैले दोस्रो विकल्प रोजेँ ।’

Advertisement