आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड

Advertisement

काठमाडौं । आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर  लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।

Advertisement

आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

वर्ष दिनभरि १२ वटा शिवरात्रि रहन्छन्

चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ, यस अर्थमा वर्ष दिनभरि १२ वटा शिवरात्रि रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक अनि सांस्कृतिक महत्त्व अतुलनीय छ । यस रात वैज्ञानिक रूपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृति लेनै मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै आध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्रि मनाइने सांस्कृतिक चलनलाई वैज्ञानिक रूपमा व्याख्या गरिएको पाइन्छ ।

आज पशुपतिनाथको कुम्भ

नेपाल इतिहासले पनि आफ्नो दस्ताबेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्ताबेजमा उल्लेख गरिएको श्लेष्मान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको भूमि हो । आज पशुपतिनाथमा भक्तजनको विशेष घुइँचो रहन्छ । पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रूपमा व्याख्या गर्न सकिन्छ । साधुहरूको व्यापक उपस्थिति रहन्छ आज पशुपतिमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि संन्यास जीवन व्यतीत गरिरहेका साधुहरू भारत अनि नेपालका विभिन्न भागहरूबाट पशुपतिनाथ दर्शन, भ्रमण कालागि आउने गर्दछन् । फर्कने बेला उनीहरूलाई पशुपति विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारिक बिदा दिने चलन पनि छ ।
 

Advertisement

Advertisement