रवि लामिछानेतर्फ संकेत गर्दै पम्फा भुसाल भन्छिन्– नयाँ गठबन्धन केही विवादित मान्छे पनि छन्

Advertisement

काठमाडौं । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् । 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कार्यक्रममा शुक्रबार उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् । 

Advertisement

भुसालले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् । उनले विवादित मान्छे (रवि लामिछाने)मा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धनको सरकार बनाइएको बताइन् । 

सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै भुसालले सो गठबन्धन यहीका दल र नेताहरुले बनाएको दावी गरिन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यही गठबन्धनमा बसिरहने कुरा नहुने बताइन् । 

नेतृ भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातीय भएको पनि बताइन् । उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् । भुसालले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्याउनुपर्ने बताइन् । 

देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने पम्फा भुसालको तर्क छ । महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने उनले बताइन् । 

Advertisement